मकवानपुर गोल्डकप अनिश्चित

हेटौंडा, २६ फागुन । बागमती प्रदेशको मुकाम हेटौंडामा हुने भनिएको स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ आयोजनामा अन्यौलता देखिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक क्यालेण्डर अनुसार मकवानपुर गोल्डकप फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गर्नुपर्ने थियो । तर, जिल्ला फुटबल संघ मकवानपुरले फागुनभित्रै गोल्डकप गर्न नसक्ने जनाउँदै चैत २९ गते गर्ने निर्णय गरेको थियो । तर, अब चैतमा पनि गोल्डकप नहुने सम्भावना बढेको छ ।
विश्वभर आक्रान्त बनाइरहेको नोभेल कोरोना भइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै सरकारले सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम तथा भीडभाड हुने खालका सबै प्रकारका कार्यक्रम नगर्न अनुरोध गरेपछि मकवानपुर गोल्डकप पनि अनिश्चित बनेको हो । मकवानपुर प्रशासनले पनि यस्ता कार्यक्रम नगर्न यसअघि नै सूचना गरिसकेको छ ।
जिल्ला फुटबल संघका अध्यक्ष टिका राम लामाले मकवानपुर गोल्डकप आयोजनामा अन्यौलता देखिएको जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चैत २९ गते हुने भनिएको गोल्डकप स्थगित हुन सक्ने लामाले बताउनु भयो ।
गोल्डकपका संयोजक प्रताप विष्टले पनि मकवानपुर गोल्डकप आयोजनामा अन्यौलता देखिएको बताउनु भयो । ‘कोरोनाको अहिलेकै अवस्था रहिरह्यो भने गोल्डकप हुँदैन् । संक्रमण हुन सक्ने सम्भावनालाई आयोजकले पनि गम्भिर रुपमा लिएको छ । कोरोना भाइरसको संक्रमणको अवस्था सामान्य भयो भने मात्रै गोल्डकप हुनेछ ।–’ विष्टले भन्नु भयो ।
अध्यक्ष लामा अनुसार केही दिनभित्रै जिल्ला फुटबल संघको बैठक बोलाएर गोल्डकप आयोजना गर्ने वा नगर्ने विषयमा टुंगो लगाउनु बताउनु भयो । आयोजक संघले गोल्डकप हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा गराउन मैदान मर्मतसम्भारको काम अगाडि बढाएको थियो ।
मकवानपुरका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा मकवानपुर गोल्डकप हुँदैछ । यसअघि भुगर्भ सिमेन्ट हेटौंडा गोल्डकप भएको थियो भने यसवर्ष स्थानीय तह मकवानपुर गोल्डकप हुन लागेको हो ।
गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहलाई संघले गोल्डकपको बारे पत्र मार्फत जानकारी गराइसकेको छ । २०७५ मा भएको गोल्डकपको अबसरमा मकवानपुरका स्थानीय तहले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।