हेटौंडामा प्रहरी ‘झुक्याउन’ खोज्ने सुन तस्करको त्यो शैली

तु खबर संवाददाता
२०७६ फाल्गुन २०, मंगलवार १८:३८

हेटौंडा, १९ फागुन । भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकल काठमाडौंबाट ‘नाइट बस’मा बीरगञ्ज हानिए । अब्दुलले साथमा कालो झोला बोकेका थिए ।

झोलामा थिए मोटर पार्टसभित्र जडान हुने ४ थान फलामको ब्यरिङ जस्तो देखिने वस्तु । अब्दुल ती फलामका वस्तुलाई भारत छिराउने प्रयासमा थिए । सायद त्यसैले उनी रात्री बसमा यात्रा गर्न रुचाए । आज बिहान अब्दुल चढेको यात्रुबाहक बस हेटौंडामा आउँदा साढे ४ बजेको थियो ।

अब्दुलले काठमाडौंदेखि थुप्रै प्रहरी चौकी पार गरे । काठमाडौं उपत्यकाबाट बाहिरिने थानकोटको प्रहरी, धादिङ मलेखु, मुग्लिन, चितवन, लोथर, मकवानपुरको मनहरी, नेवारपानीको प्रहरी चौकी पनि अब्दुलले पार गरे । उनी सवार बस जिल्ला प्रहरी कार्यालय हुँदै बासपार्क पनि पुग्यो ।

बसपार्कबाट बीरगञ्जको यात्राको लागि हिँडेको बस हेटौडा–१५ स्थित रातोमाटे प्रहरी चेक पोष्टमा रोकियो । प्रहरीले बस खानतलासी गर्न थाल्यो । बसमा सवार उनै अब्दुल प्रहरीको शंकाको घेरामा परे । अब्दुलले बोकेको त्यही कालो झोलामाथि प्रहरीको शंका गाडियो ।

प्रहरीले झोला चेक गर्यो । झोलाभित्र ४ थान फलामको ब्यरिङ जस्तो देखिने, फलामको पास्ताको ब्यरिङ २ थान र फलामको मिट ब्यरिङ २ थान फेला पर्यो ।

प्रहरीलाई झन शंका लागी उक्त फलामको पार्टहरु बरामद गर्दै काटेर हेर्दा फलामित्र सुन जस्तो देख्ने पहेलो रङ्गको धातुको ढिकाहरु देखेपछि प्रहरी सुन तस्कर रहेको अनुमानको नजिक पुग्यो ।

सुन जस्तो देखिने थान ८ ढिक्कालाई सुनचाँदी व्यवसायी संघ हेटौंडाले सुन नै भएको प्रमाणित गरेपछि अब्दुलको प्रहरी झुक्याउने यस्तो जाललाई तोडेको छ ।

यस्तो शैलीमा सुन लुकाएर नेपाल प्रहरीलाई झुक्काउँदै भारत छिराउने प्रयासमा रहेका अब्दुललाई मकवानपुर प्रहरीले पक्राउ गरेको केही घण्टामै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

बरामद भएको आठ थान सुनको तौल ६ केजी २८९ ग्राम रहेको छ । यसको बजार मूल्य ४ करोड २७ लाख ५८ हजार सात सय ७४ पर्ने मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

सुनसहित पक्राउ परेका अब्दुललाई सुनसहित थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*