हेटौंडा सिमेन्ट ३ अर्ब खर्चेर क्षमता बढाउँदै

तु खबर संवाददाता
२०७६ फाल्गुन १८, आईतवार १८:४५

हेटौंडा, १८ फागुन । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता बढाउने भएको छ । उद्योगले हाल १० देखि १२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

निजी क्षेत्रका उद्योगको तुलनामा कम उत्पादन भएकाले प्रतिस्पर्धी क्षमता बढाउन संघीय सरकार उद्योग मन्त्रालयको निर्देशनअनुसार उत्पादन क्षमता बढाउन लागिएको हो ।

करिब २ अर्ब ८८ करोड खर्चिएर क्षमता बढाउने तयारी गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनु भयो । बिग्रिएका मेसिन मर्मत गर्ने तथा आधुनिक प्रविधियुक्त मेसिन थपेर उद्योगको क्षमता दैनिक ५० देखि ६० बोरा पुर्‍याइने महाप्रबन्धक सिंहले बताउनु भएको छ ।

उहाँले अनुमानित लागत र योजनाको प्रस्ताव उद्योग मन्त्रालयमा बुझाउन निर्देशन दिइएपछि प्रस्ताव तयार पारिएको सिंहले जानकारी दिनु भएको छ ।

‘उद्योगले बुझाएको प्रस्ताव स्वीकृतलगत्तै मन्त्रालयले बजेट छुट्याएपछि योजना अघि बढ्नेछ,’ उहाँले भन्नु भयो, ‘क्षमता बढाउनासाथ उत्पादनमा वृद्धि हुने र उत्पादन लागत प्रतिबोरा २ सय रुपैयाँ घट्नेछ ।’

उद्योगको उत्पादन लागत हाल प्रतिबोरा करिब ६ सय ६० रुपैयाँ छ । जी टू जीमार्फत कोइला आयात गर्दा निकै सस्तो पर्ने र यसले सिमेन्ट उत्पादन लागतसमेत घटाउने महाप्रबन्धक सिंहको जिकिर छ ।

उद्योगले धादिङस्थित जोगीमारा, मकवानपुरगढी गाउँपालिकास्थित मजुवा, भैँसे र ओखरे खानीबाट चुनढुंगा ल्याउने गरेको छ । उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न चालू आर्थिक वर्षमा मात्र तीनपटक मूल्य समायोजन गरिसकेको छ । नयाँ पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*