‘हेटौंडा–काठमाडौं सुरुमार्गको नाममा जनतासँग उठाएको पैसा सार्वजनिक गर्नुपर्छ’

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १२:४३

हेटौंडा, १६ फागुन । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माण गर्ने नाममा मकवानपुरका जनतासँग शेयर उठाएको पैसा सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ ।

सुरुङमार्ग निर्माणको जिम्मेवारी लिएको २०६८ भदौमा स्थापित नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका जनतासँग उठाएको करोडौं पैसा सार्वजनिक गर्न अनुरोध गर्नु भएको छ ।

‘कम्पनीका नाममा हेटौंडा, भीमफेदी, कुलेखानी, इन्द्रसरोर, थाहा नगरपालिकालगायतका जनतासँग सुरुङमार्ग बनाउनको निम्ति भनेर शेयरको लागि उठाएको पैसा सार्वजनिक गर्नुपर्छ ।–’ अध्यक्ष लामाले भन्नु भयो ।

पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) को अवधारणामा निजी क्षेत्रबाट तयार गरिएको नेपालको पहिलो सुरुङमार्गसहितको सडक आयोजना हो–भीमफेदी–कुलेखानी–काठमाडौं सुरुङमार्ग । यो सुरुङमार्ग बनाउने भनेर कम्पनीले भीमफेदीमा भूमीपूजा भन्दा बाहेकको काम यतिका वर्षबितिसक्दा पनि गर्न सकेको छैन् ।

नेपालकै कोशेढुंगाको रुपमा व्याख्या गरिएको काठमाडौं–कुलेखानी–भीमफेदी सुरुङमार्ग मकवानपुरे जनताका लागि अहिले सपना जस्तै बनिसकेको छ । लगानीकर्तादेखि आमसर्वसाधारणमा सुरुङमार्गको कुरा आउनासाथ शरिरका रौं ठाडा हुन्छन् ।

सुरुङमार्ग भन्ने बितिक्कै कतिपय झसङ्गै हुन्छन, तर्सिन्छन् । किन कि यही सुरुङमार्गमा ऋण काडेर शेयर खरिद गरेकाहरु आफ्नो लगानी डुब्नेमा पिरलिएका छन् । यतिका वर्षसम्म सुरुङमार्ग नबनेपछि मकवानपुरका सर्वसाधारणको करोडौं लगानी बालुवामा पानी खनाएजस्तै भएको यहाँ जनप्रतिनिधिदेखि लगानीकर्ताले गुनासो पोख्दै आएका छन् ।

२०७० कात्तिक–मंसीरमा काम थालेर २०७४ मंसीरमा सक्ने भनिएको सुरुङमार्गले देश–विदेशका नेपालीलाई उत्साही बनाएको थियो, त्यतिबेला । तर, अहिले आशाको किरण निभिसकेको छ । ५८ किलोमिटर मार्गमा तीन वटा सुरुङ बनाइने तय भएको मध्ये सबैभन्दा लामो र मुख्य सुरुङ कुलेखानीबाट सुरु भई भिमफेदीमा टुङ्गिने थियो ।

कतिपय सर्वसाधारणले लालपुर्जा धितो राखी ऋण लिएर समेत सुरुङमार्गमा लगानी गरेका थिए । गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार भिमफेदी गाउँपालिकाका मात्रै ३ हजारभन्दा बढी परिवारले १० हजारदेखि १० लाख रुपैयाँसम्मका पूर्वाधार विकास कम्पनीमा लगानी गरेका छन् ।

नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)ले अहिलेसम्म सिन्कोसमेत भाँच्न नसक्दा बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि तगारो हाल्न नहुने अध्यक्ष लामाले बताउनु भएको छ ।

‘पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग बनाउँछ भन्ने व्यक्तिहरुले विगतको सरकारले अनुमति दिएको भन्दै तागारो हालेर बस्नु हुँदैन् ।’ लामाले भन्नु भयो ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको लागि सबैपक्षले साथ सहयोग पुर्याउनु पर्ने उहाँको भनाई छ । प्रदेश सरकारले पनि सुरुङमार्ग आयोजना सञ्चालन गर्न तदारुकताका साथ काम अगाडि बढाउनु पर्ने लामाले बताउनु भयो ।

सर्वसाधारणको करोडौं लगानी उठाएर अस्वभाविक खर्च गर्दै आएको कम्पनीबाट सर्वसाधारणले आफ्नो लगानी डुब्ने खतरा देखिसकेका छन् । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् ।

‘हामी सक्छौं’ भन्ने नाराका साथ शुरू गरिएको सुरुङमार्गका लागि कम्पनीले १७ सय जना संस्थापक र साधारण शेयरधनीबाट ३० करोड ७८ लाख ८६ हजार ३ सय ९२ संकलन गर्यो । त्यसमध्ये ७ करोड ६० लाख रुपैयाँ अग्राधिकार शेयर हो ।

(भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामासँग तु खबरले गरेको संक्षिप्त कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*