मेरो कार्यकालमा नगरपालिकालाई देशैभर चिनाउँछु : मेयर खड्गबहादुर खत्री

कमलामाई नगरपालिका, सिन्धुली
२०७६ फाल्गुन १३,मंगलवार १९:१४

सिन्धुली जिल्ला ऐतिहासिक महत्व बोकेको जिल्ला हो । विकासको दृष्टिकोणले पछाडी परेको मानिने यो जिल्ला संघीयताको कार्यान्वयनको चरणमा गइसकेपछि विस्तारै विकासमा बामे सर्दैछ । यसै सन्दर्भमा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री यो नगरपालिकालाई हरेक हिसाबले विकसित बनाउन क्रियाशील भइरहेका छन् । प्रस्तुत छ, तु खबरका समाचार प्रमुख बलराम पुडासैनी  ले मेयर खत्रीसँग गरेको कुराकानीको सम्पादित अंश ।

 

प्रश्न : कमलामाई नगरपालिकाको तपाई मेयर हुनुहुन्छ, जनप्रतिनिधि नहुँदा कर्मचारीले नेतृत्व गरेका थिए । तपाइको कार्यालयले जनतालाई प्रवाह गर्ने सेवालाई कसरी सरल बनाउनु भएको छ ? जनतालाई गाउँमै सरकार आएको प्रत्याभूति भएको छ कि छैन ?

–  धन्यवाद । निजामति कर्मचारी र जनप्रतिनिधिले चलाएको सरकारमा हामीले तुलना गर्न सकेनौँ भने जनताले परिवर्तनकोे अनुभूति गर्न सक्दैनन् । त्यसैले हामीले हिजोभन्दा आज सहज ढंगले जनताले पाउनुपर्ने सेवा–सुविधा दिने प्रयास गरिरहेका छौँ । हिजोको दिनमा एउटा सामान्य सिफारिस पाउन सेवागा्रहीलाई जुन खालको समस्या थियो, त्यो खालको समस्या आज छैन । जनप्रतिनिधि निर्वाचित भएपछि स्थानीय तह बढी जिम्मेवार भएका छन् । धेरै अधिकार तथा जिम्मेवारीहरु वडामा नै दिइएको छ । कर्मचारीले गरेको काम सिधै जनप्रतिनिधिको जिम्मेवारीमा हुँदा सामान्य समस्या भने देखिएको छ, तर त्यो छिट्टै समाधान हुन्छ ।
जनप्रतिनिधि र कर्मचारी बीचको कुरालाई लिएर जनताले दुःख पाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो । जनताले नगरपालिकाबाट पाउने सेवा–सुविधालाई सहज ढंगले प्रवाह गर्न र जनताको गुनासो नआउने वातावरण बनाउन मैले सबै कर्मचारीहरुलाई निर्देशन दिएको छु । म जनताको सेवामा सदैव प्रतिबद्ध छु ।

प्रश्न : तपाई निर्वाचित भएर आएपछि नगरवासीहरुको मुख्य समस्याको पहिचान गर्नुभयो की भएन ? पहिचान गर्नुभएको छ भने के–क गर्नुभयो ? र त्यसको समाधानको लागि तपाइले के गरिरहनुभएको छ ?

सबैभन्दा पहिलो कुरा नेपालीको पहँुच सरल र सुलभ ढंगले शिक्षा र स्वास्थ्यमा पुग्नुपर्दछ । त्यो मान्यता मँैले हिजो पनि बोकेको थिएँ र आज पनि बोकेको छु । सहज ढंगले स्वास्थ्यमा पहुँच पुर्याउनको लागि कमलामाई नगरपालिकाको १४ वटै वडामा सहरी स्वास्थ्य क्लिनिक पुगेको छ । स्वास्थ्यलाई अलि बढी गम्भीर विषयको रुपमा हामीले लिएका छौँ । अहिले कमलामाई नगरपालिकाले मोतियाबिन्दु, आङ खस्ने र हर्निया गरी तीन वटा रोगको उपचार गराउने व्यवस्था मिलाएको छ । हामीले पत्येक स्वास्थ्य चौकीमा सरकारले दिएको निशुल्क औषधी पाइएन भन्ने गुनासो हुनुभएन भरेर काम गरिरहेका छौँ । सबै वडामा स्वास्थ्य शिविर गर्नुपर्छ भनेको छु । त्यसैगरी शिक्षा क्षेत्रमा हामी गम्भीर छौँ । यस नगरपालिका भित्र धेरै स्कुलहरु थिए । शिक्षालाई गुणस्तर बनाउनको लागि यहाँका केही स्कुलहरु मर्ज गरिए र अहिले पनि कमलामाई नगरपालिकामा ९७ वटा स्कुल छ । यी स्कुलहरु सुधार गर्नको लागि नगरपालिकाले प्रयास गरिरहेको छ । हामीले बाल क्लासको शिक्षक नभएको ठाउँमा बालक्लासको शिक्षक, निमावि शिक्षक नभएको ठाउँमा निमावि शिक्षक, मावि शिक्षक नभएको ठाउँमा मावि शिक्षक पठाएका छौँ । सँगसँगै शिक्षकहरुलाई तालिम पनि अत्यन्तै राम्रोसंग उपलब्ध गराइरहेका छौँ । हामीले तीन जनालाई शिक्षक सहजकर्ताको रुपमा राखेका छौँ । मासिक रुपमै शिक्षकले तलब खाएका छन् । उनीहरुलाई आईसिपीसम्बन्धी तालिम र प्रअको तालिम दिनेखालको काम गरिरहेका छौँ । हामी धेरै राम्रो काम गर्ने प्रयास गरिरहेका छौँ । सबै पूर्ण त छैन, विस्तार हुँदैछ ।

त्यस्तै नेपाल कृषि प्रधान देश हो, हाम्रो ध्यान त्यता पनि छ । किसानहरुले बारी बाँझो राख्ने अनि तरकारी र अन्न किन्ने गरेका छन् । हामीले किसानहरुलाई अब जमिन बाँझो नराख्नुस्, हामी समृद्ध हुनुको लागि आत्मनिर्भर बन्नुपर्छ, पहिला खान पाउनुपर्छ भन्दै आएका छौँ । कृषि क्षेत्रलाई अत्यन्तै प्राथमिकता पनि दिएका छौँ । अहिले हामीले बाहिरको दूग्ध, मासु ल्याउनुपर्दैन । नगरपालिका क्षेत्र अहिले च्याउँ खेतीमा आत्मनिर्भर छ । अरु तरकारीमा पनि लगभग अरु नगरपालिकाभन्दा कमलामाई नगरपालिका धेरै अगाडि छ । आगामी दिनहरुमा यस नगरपालिकाभित्र तरकारी आयात गर्नै नपर्ने हामी बनाउँछौँ । किसानहरुलाई कुलोको व्यवस्था गरिदिने, सिँचाई नभएका जमिनहरुमा सिँचाईको व्यवस्था गरिदिने अभियानमा छौँ ।

हामीले ‘नगरवासीको चाहाना उज्यालो नगरपालिका हाम्रो कामना’ भन्ने नारालाई सफल पार्नको लागि अबको २/३ महिनाभित्र कमलामाई नगरपालिकाभित्रका सबै गाउँटोलमा बिजुली पुर्याउने तयारी हाम्रो छ, पुग्छ पनि । हामीले टेन्डर गरेका छौँ, नगरपालिका भित्रका सबै खर–परालको छानाहरु अन्त्य गर्ने घोषणा गरेका छौं । पानी चुहिने घरमा अब जनता बस्नु पर्दैन । हामीले पहिला स्कुलबाट सुरु गरेका हौं । अहिले स्कुलभित्र बस्दा छाता ओडेर बस्नु नपर्ने भएको छ । अब केही समयभित्रै हामी नगरपालिकाभित्रका प्रत्येक घरमा खर–परालको छानो अन्त्य गर्ने छौँ ।

 

प्रश्नः नगरको समग्र विकासतर्फ यहाँहरुको योजना के छ ? सवै वडामा सडकको पहुँच पुगेको छैन, कहिले पुग्छ ?

भौगोलिक दृष्टिकोणले यस नगरपालिका अत्यन्तै बिकट छ । म नगरपालिकाभित्रका सबै वडामा पिच हुन्छ त भन्न सक्दिन तर, हाम्रो प्रयत्न र प्रयास के छ भने सकभर सबै ठाउँमा गाडी पुग्नुपर्छ १२ नम्वर वडा बाहेक सबै वडामा सडकको पहुँच पुगिसकेको छ । हामी १२ नम्वर वडामा पनि अब आउने बजेटबाट सडक पुर्याउने तयारीमा छौँ । लगभग हामीले ट्रयाक खोल्ने काम गरिसकेका छौं । ठाउँ–ठाउँमा हामीले पिचको कामहरु पनि गरिरहेका छौँ । अहिले पनि ९/१० करोडको काम भइरहेको छ । सिन्धुलीका धेरै ठाउँमा बैकल्पिक बाटोहरु खोलेका छौँ, कमलामाई नगरपालिका वडा नम्वर ८ बाट सिधै २ नम्वर प्रदेशको सर्लाही जिल्लामा पुग्ने बाटो खोल्यौँ ।
हामीले वर्षमा ८ देखि १० करोड बजेट पिचमा लगाएका छौँ । त्यसले मात्रै पर्याप्त छैन किनभने यस नगरपालिका देशकै पाँचौ ठूलो नगरपालिकामा पर्दछ । यो भौगोलिक हिसावले पनि निकै ठूलो छ । बजेट थपेर काम गर्नेछौँ ।

प्रश्नः बजेट विनियोजनको दृष्टिकोणले आर्थिक वर्ष ०७६/०७७ मा नगरपालिकाले कुन क्षेत्रलाई प्राथमिकतामा राख्यो, आगामी बजेटमा प्राथमिकताका साथ कुन विषयलाई राख्नुभएको छ ? महिला, वालवालिका, जनजाती दलित अपाङ्ग आदि समुदाय र बर्गका जनतालाई लक्षित कार्यक्रम के छ ?

 कार्यक्रमको आधारमा बजेट होईन, आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्छ । अहिले कमलामाई नगरपालिकाले वडा–वडामा गएर अपाङ्गको परिचय पत्र वितरण गरिरहेको छ । हाम्रो उपमेयरको नेतृत्वमा टोली गाउँ गाउँमा पुगिरहेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई हुइलचेयरको व्यवस्थापन गरेका छौँ । त्यस्तै बालबालिकाको हकमा हामीले कुनै पनि बालकालिका आर्थिक अभावका कारण स्कुल जानबाट बञ्चित नहोस् भनेर प्रत्यक्ष निगरानी गर्ने र सहयोग उपलब्ध गराउनुपर्ने अवस्था भए गर्ने गरिनै रहेका छौँ । अझै पनि छुटेका छन् भने कृपया जानकारी दिनुहोला हामी त्यस्ता बालबालिकालाई चाहिने कपडालगायत स्टेशनरी सामग्री सबै उपलब्ध गराउँछौँ ।

पोहोर पनि मैँले ७५ जनालाई स्टेशनरी सामाग्री वितरण गरेको थिएँ । यस वर्ष पनि हामीले ८० जनालाई एक वर्षसम्म पुग्ने गरी स्टेशनरी सामाग्री वितरण गरेका छौँ । महिला बालबालिकाको हक अधिकारको विषयमा पनि हामी गम्भीर छौँ । गत वर्ष ८० जना दलितहरुलाई ३ महिने कम्प्यूटर तालिम दियौँ , यो बर्ष पनि उहाँहरुले चहाना राख्नुभयो भने कम्प्यूटर डिप्लोमा तालिमसम्मको तालिम दिनेछौँ । जनजातिहरुलाई लोकसेवा तयारी कक्षाको लागि निशुल्क पढायौँ । कमलामाई नगरपालिकाले महिला हिंसामा परेका ७/८ जना महिलाहरुलाई सिलाई सम्बन्धी तालिम दिएको छ । म के भन्छु भने कोही पनि मानिस म शिप सिक्छु भनी निवेदन दिन आए नगरपालिकाले व्यवस्था मिलाउँछ ।

अहिले युवा स्वरोजगारको लागि नगरपालिकाले १ करोड रुपैयाँ बजेट छुट्याएको छ । त्यो पैसा हामीले तालिम लिएको भए प्रमाणपत्र, नलिएको भए तालिम लिने प्रबन्ध गर्ने र तालिम लिइसकेपछि बिना धितो, बिना व्याज ऋण दिने कार्यविधि बनाएका छौँ । उसले हामीलाई किस्ता तिर्नुपर्छ र जुन दिन उसले किस्ता तिर्दैन त्यो दिन उसले नगरपालिबाट पाउने कुनै पनि सेवा पाउँदैन । पैसाकै कारणले मैले कुनै पेशा व्यवसाय गर्न पाइन भन्ने नहोस् भन्न हामीले यो कार्यविधि बनाएका हौँ । कोही पनि मानिस मैले ८ घण्टा काम गर्न पाइन, मैले खान पाइन भन्छ भने त्यस्तो मान्छेलाई नगरपालिकाले काम दिन्छ । काम चाँही गर्नुपर्छ ।

दिनभरी डुल्नी, चियाँ पसलमा बस्ने, अरुको कुरा काट्ने अनि बेलुका झोलामा खुर्सानी किनेर लैजाने अनि म बेरोजगार भएँ भन्नेहरुको पक्षमा म छैन ।

 

प्रश्नः यहाँले निर्वाचनको बेला गर्नुभएको प्रतिबद्धता कार्यान्वयनको चरणमा छन् ?

कमलामाई नगरपालिकाको यही चैत्रमा स्थापना दिवस छ । यसबारे सोही अवसरमा म भन्नेवाला थिएँ तपाईले साध्नुभयो खुसी लाग्यो । मैले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको ६० प्रतिशत काम गरिसकेको छु र बाँकी काम गर्ने प्रयास पनि गरिनै रहेको छु ।

प्रश्नः तपाई तलब भक्ता पनि लिनुहुन्न, व्यवहारिक जीवन कसरी चलाउनुभएको छ ?

नगरपालिकाले दिएको तलव सुविधाचाँही मैँले लिएको छु । तर, बाहिर सामाजिक काममा गएको भत्ता चाँही मैँले खुत्रुकेमा हालेको छु । म नगरपालिकामा निर्वाचित भएर आएपछि नगरपालिकाले दिएको सेवासुविधा लिएको छु । म एउटा सामान्य किसानको छोरा हुँ । जीवन धान्न समस्या छैन ।

मैँले बाहिरको भत्ता चाँही लिएको छैन । किन भने मलाई नगरपालिकामा जिताएको नै नगरभित्रका जनताले हुन् । बाहिरबाट आउँने सबै भत्ता मैँले व्यक्तिगत नभई नगरपालिकाको खुत्रुकेमा हालेको छु । विदेश भ्रमणमा जाँदा पनि मैँले एक रुपैयाँ पनि नगरपालिकाको पैसा चलाएको छैन । मैले सबैलाई भनेको पनि छु, अहिले समाजमा भ्रष्टाचार बढ्दैछ त्यसको अन्त्य हामी जस्ता जनप्रतिनिधिहरुबाट थालनी गर्नु पर्दछ । हामी आँफै राजनीतिमा लागेर जनप्रतिनिधि भएका हौं । यस कारण भ्रष्टाचारलाई हामी आफैले अन्त्य गर्नुपर्दछ ।

प्रश्नः अन्य राजनीतिक दलको सहयोग कस्तो छ ?, विकासमा राजनीति भयो भन्ने गुनासो तपाइमाथि छ, आफ्नालाई मात्रै समेटिएको हो ?

–  कमलामाई नगरपालिकामा १४ वटा वडा छ । मैले बजेट विनियोजन गर्दा लगभग सबै वडामा समान किसिमको व्यवहार गरेको छु । तर उपभोक्ता समितिहरु बन्दा कतै आग्रह–पूर्वाग्रह पनि देखियो । अहिले कमलामाई नगरपालिकाभित्रका प्राय वडामा उपभोक्ता समितिमा मानिसहरु बस्नै मान्दैनन् । किनभने मैले धेरै टाईट गरेको छु । ढलान गरेको ठाउँमा कैँचीले हान्नुस् र मोटाइ नाप्नुस् भनेर भनेको छु ।

मान्छेले आरोप प्रत्यारोप लगाउनु स्वभाविक हो, तर मँैले कमलामाई नगरपालिकाको प्रमुखको हिसाबले कोही नजिक, कोही टाढा भनेको छैन । म एक राजनीतिक दलबाट निर्वाचित भएको आएको हुँ । मेरो दलप्रति इमान्दारिता र झुकाव हुनु स्वभाविक हो । त्यसकारण मैले भन्ने गरेको छु राजनीति गर्न पाइन्छ, तर विकासमा राजनीतिकरण गर्न पाँइदैन ।

राजनीतिक दललाई अहिलेसम्म औँला ठड्याउने मौका मैले दिएको छैन । अहिले कमलामाई नगरपालिकामा ७७ हजार जनसंख्या छ । मैले ती ७७ हजार जनसंख्याकै हित हुने काम गरेको छु । हामी निर्वाचित भएका मानिस पाँच वर्ष राम्ररी काममा लाग्ने हो भने ५ वर्षमा यो मुलुक बेग्लै हुन्छ । त्यसकारण दुई तिहाइको नेकपा सरकारले पाँच वर्षसम्म तपाईहरु पानी खाएर लाग्नुस् भनेर निर्देशन दिने हो भने हामी जनप्रतिनिहरु त्यो काम गर्न तयार छौं र मुलुक पनि अगाडी बढ्छ ।

प्रश्नः आगामी योजनाहरु के–के छन् ?

–  मैले आगामी दिनमा यस नगरपालिकालाई समृद्ध बनाउन र नगरपालिकाको भविष्य उज्ज्वल बनाउन काम गर्नेछु । मैले निर्वाचनमा सिन्धुलीको कमलामाई नगरपालिका देशभर चिनाउँछु भनेको थिएँ । त्यो काम मैले गरेर देखाएँ । म निर्वाचित हुनुभन्दा पहिला नै सिन्धुलीगढी बन्नु पर्दथ्यो तर, मेरो अवसर पनि हो यो । कसैले नबनाएको कारण मेरो पालो आएको छ । सिन्धुली गढीमा नेपाली सेनाले युद्ध संग्राहलय बनाउन टेण्डर भइसक्यो । त्यसको लागि प्रदेश सरकारले बजेट छुट्टाइसकेको छ ।
नगरपालिकाले मजदुर स्वास्थ्य बीमा भन्ने योजना ल्याएको छ । त्यसको लागि ८ सय मजदुरको बीमा हुन्छ । जनताको शिक्षा र स्वास्थ्यमा सहज पहुँच हुनु पर्दछ । यस नगरपालिकामा ८ सय मजदुर होईन २ हजारदेखि ३ हजारसम्मको मजदुरको स्वास्थ्य बीमा हुनु पर्दछ । उनीहरुको शिक्षा र स्वास्थ्यमा सहज पहुँच पुगोस् भन्ने मेरो मान्यता हो ।

अहिले गाउँमा कुकुरले टोक्यो, गर्भवती महिलाको सुत्केरी गर्नु पर्यो भने सदरमुकाम आउनुपर्ने अवस्था नहोस् भनेर हामीले गाउँमै स्वास्थ्य चौकी स्थापनामा जोड दिएका
हौँ ।

नगरपालिकाभित्रका चार वटा वडामा अहिले नयाँ स्वास्थ्य चौकी भवन निर्माण हुँदैछ । यी चार वटा लगायत सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी स्वास्थ्य क्षेत्रमा नम्वर वान नगरपालिकाको घोषणा हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

अहिलेको यो शिक्षा अलि अव्यवहारिक भयो । आगामी दिनमा यो शिक्षा अलि व्यवहारिक र संस्कार बोकेको शिक्षा हुनु पर्दछ । नेपाल एउटा व्यवहार र संस्कार–संस्कृति बोकेको देश हो । तर, यो देशमा पढेको जति सबै विदेश जान्छन् । तर, संस्कार, व्यवहारिक र नैतिकजस्तो शिक्षा अबको लागि आवश्यक छ । त्यो शिक्षालाई जोडेर व्यवहारिक शिक्षा बनाउनुपर्दछ । किसानलाई उत्पादनमा लगाउने तर कृषि उत्पादनको बजारीकरण नहुने देखिन्छ । अब किसानले उत्पादन गरेको तरकारी सरकारले किन्नुपर्छ । फाल्नैपरे पनि सरकारले किनेर फाल्नुपर्छ ।

मेरो मान्यता भनेको अब कमलामाई नगरपालिकालाई शिक्षाको हब बनाउनुपर्छ भन्ने हो । हामी निर्वाचित भएर आएपछि ३ वर्षे फरेष्टी, ३ वर्षे सर्भे इन्जिनियरिङ, ३ वर्षे कृषिको जेटियो, भेटनरी आएको छ । यसले गर्दा यस नगरपालिका शिक्षाको हब बन्दैछ । शिक्षामा यसको व्यवस्थापन गर्न जरुरी छ ।

कमलामाई नगरपालिकालाई जोड्ने विभिन्न खोलानालाहरुमा बन्ने पुल, पुलेसाहरुको डीपीआर भइरहेको छ । आगामी दिनमा यस कमलामाई नगरपालिकाको एउटै मुख्य योजना छ, त्यो हो पर्यटक । यस नगरपालिकामा मुख्य पर्यटक भित्र्याउने ठाउँ भनेको सिन्धुलीगढी हो । यो गढीको व्यवस्थापन हामीले गर्दैछौँ र यस गढीको लागि हामीले अहिले होमस्टे संचालन गरेका छौँ । म निर्वाचित हुनुभन्दा पहिले कमलामाई नगरपालिकामा होमस्टेको जरुरत छ भन्ने मेरो घोषणा पत्रमा थियो ।

हामी घोषणापत्रमा आधारित रहेर जनताको लागि नगरिनहुने काम गर्न तल्लिन भइरहेका छौँ । यस कार्यमा सबैको सहयोग पाइरहेकै छौँ । भोलिका दिनमा पनि आम नगरवासी सबैको सहयोग पाउने अपेक्षा मेरो छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*