हेटौंडा उपमहानगरपालिकाले काम गर्ने वातावरण बनाउन सकेन

२०७६ फाल्गुन ८,बिहीबार १९:०६

हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि यहाँ दिनानुदिन आवास निर्माण भइरहेका छन् । तर, ती आवासीय क्षेत्र व्यवस्थित नहुँदा सहरको स्वरुपनै बिग्रने हो की भन्ने चिन्ता छ । घरजग्गा व्यवसायी संघले यसलाई सुधार गरी व्यवस्थित सहर निर्माणमा जुटेको दाबी छ । अहिले हेटौंडा उपमहानगरपालिकाले कित्ताकाट रोकेको छ । तर, संघले भने कित्ताकाट रोक्न नहुने भन्दै पटकपटक खुलाउन पहल गरिरहेको छ । यी नै विषयलाई लिएर तु–खबरले घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुब घिमिरेसँग गरिएको कुराकानी ।

प्रश्नः घरजग्गा व्यवसायी संघ र यसको कार्य क्षेत्रबारे स्पष्ट पारिदिनुस् न ?

उत्तरः घरजग्गा व्यवसायी संघ यस व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले गठन गरिएको संस्था हो । यसले घरजग्गा व्यवसायीका पीरमर्कामा मल्हम पट्टी लगाउने काम गर्छ । हाम्रो कार्य क्षेत्रबारे भन्नुपर्दा हेटौंडा र आसपासका क्षेत्रहरुमा व्यवस्थित आवास निर्माण गर्ने, नगरपालिकाको मापदण्ड अनुरुप घर घडेरी तयार पार्ने, नगरपालिकासँग छलफल गरी खेतीयोग्य र आवासयोग्य जमिनको पहिचान गरी काम गर्ने हो । त्यसमा पनि बाटो, ढल, पानी, विजुलीसहितको । व्यवसायीलाई यस कार्यमा मद्दत गर्ने र यससँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई राजश्व तिरेर, कानूनी दायरामा बसेर काम गर्न प्रोत्साहन गर्नु हाम्रो जिम्मेवारी हो ।
हामीले व्यवस्थित रुपमा काम नगर्नेलाई सुझाव दिने गरेका छौँ । व्यवस्थित काम नगर्नेहरुलाई संघले मात्र नभइ स्थानीय तह र प्रशासनिक निकायले पनि निगरानी भने गर्नुपर्छ ।

प्रश्नः संघ र स्थानीय तह बीचको सहकार्य कस्तो छ ?

उत्तरः राज्यले र भूमि सम्बन्धि अधिकार र जिम्मेवारी स्थानीय तहलाई दिएको छ । तर, स्थानीय तहले त्यो जिम्मेवारीलाई ग्रहण गरेको छ पूरा गरेको छैन । स्थानीय तहले घर जग्गासँग सम्बन्धित काम गर्नको लागि झनै असहज वातावरण बनाएको हामीलाई लागेको छ ।

स्थानीय तहलाई कस्तो–कस्तो जमिन खेती योग्य भन्ने ?, कस्तोलाई उद्योगको लागि छुट्याएको जमिन भन्ने ? अनि कस्तोलाई मठ मन्दिरको जमिन भन्ने जस्ता विभिन्न वर्गीकरण गरेर जानकारी स्थानीय तहलाई पठाइएको छ ।

तर, स्थानीय तहले सहजीकरण गर्नुको सट्टा अनेक बहानामा घर जग्गा सम्बन्धि काम झनै झन्झटिलो बनाइरहेको छ ।  स्थानीय तहले छिटो भन्दा छिटो जग्गा खण्डिकरण गरी कुन जग्गामा व्यवसाय गर्न पाउने भन्ने छुट्याउनुपर्छ ।

प्रश्नः  ६ महिना अघि मात्र संघ स्थापना भएको छ । संघको मुख्य चुनौतीहरु के के हुन् ?

अहिले कम्पनी खोलेर काम गर्नेले करिब २ वर्षदेखि केही गर्न पाएका छैनन्, लगानी मात्र गरेर राख्नुपर्ने अवस्था छ । तर, जो साना व्यवसायीहरु हुनुहुन्छ, जसको नाममा ‘प्यान’ नम्बर छैन उहाँहरुले अंशबण्डाको रुपमा काम गरिरहनुभएको छ ।
उहाँहरुले कम्पनीमा काम गर्नु र व्यक्तिगत रुपमा काम गर्दा राजश्व धेरै फरक हुन्छ । व्यक्ति, कम्पनी र अंशबन्डामा तिर्नुपर्ने राजश्व पनि फरक– फरक हुन्छ । अंशबन्डामा काम गर्दा कम्पनी र व्यक्तिमा काम गर्दा भन्दा २० सौं गुना राजश्व कम हुन्छ । अंशबण्डामा प्लानिङ गरेर काम गर्दा बाटोको मापदण्ड छैन, कतै ३ मिटर, कैतै ४ मिटर छ त्यो भन्दा एउटा ६ मिटर वा ८ मिटर बाटो भनेर नियम बनाइदिए राम्रो हुन्छ ।

सरकारले अहिले राजश्व संकलन गरिरहेको छ । तर जुन कुराबाट बढी राजश्व संकलन हुन्छ त्यही कुरातर्र्फ सरकारले ध्यान दिएको छैन । अंशबण्डाबाट काम गर्दा राज्यलाई अहिले स्वतः घाटा भइरहेको छ । उक्त विषयमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।

प्रश्नः प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आवास परियोजनातर्फ संघको भूमिका के हुन सक्छ वा के गर्न सकिन्छ ?

उत्तरः धेरै महत्वपूर्ण प्रश्न गर्नुभयो । अहिले हेटौंडा प्रदेशको राजधानी हो । राजधानीमा व्यवस्थित आवास निर्माण हुनुपर्छ । हामी घरगज्जा व्यवसायीकै यसमा महत्वपूर्ण संलग्नता रहने भएकोले हामी यस विषयमा गहन हुनु पर्दछ । मापदण्डमा रहेर काम गर्नुपर्छ, जस्तो १० कठ्ठाभन्दा माथिको जग्गा प्लानिङ् गर्दा ८ मिटरको र शाखाबाट ६ मिटरको बाटो हुनुपर्छ किनकी आजभन्दा २० वर्षपछि पनि त्यो बाटोमा गाडी हिड्नुपर्छ, भोलि बाटो साँधुरो खोपेगल्ली जस्तो नहोस् भन्ने हिसाबले त्यो मापडण्ड दिइएको हो । उक्त बाटोमा पीच वा स्ल्याब ढलान हुनुपर्छ ।

त्यो बाटोमा पानी, बिजुली, सोलार, ग्रिनरी र ओपन स्पेसको प्लानिङ गरेपछि मात्रै स्थानीय तहले नापीलाई स्वीकृती दिन्छु भन्यो भने सबै कुरा ठिकमा हुन्छ । व्यवस्थित हुन्छ । व्यवसायमा सामूहिकता भयो भने राम्रो हुन्छ भनेर हामीले संघ बनाएका हौं । एउटाले व्यवसाय गर्दा असर पर्ला त्यही व्यवसाय ५ जना मिलेर गर्दा राम्रो हुन्छ । किनभने त्यसो गर्दा व्यवसायीहरुलाई मार पनि पर्दैन र व्यवस्थित पनि हुन्छ । सम्पूर्ण जनता, व्यवयायीलगायतको सहयोगले मात्रै देश बन्छ भन्ने हाम्रो धारणा छ ।

प्रश्नः  सहर आसपास मात्र घरघडेरी बनाइने बिक्री वितरण गरिने हुँदा ग्रामीण क्षेत्र ओझेलमा पर्ने र सहर आसपासका अति उर्बर भुमिमा ह्रास आउने क्रम बढ्दो छ । विकल्प के हुन सक्ला ?

उत्तरः यो गम्भीर विषय हो । तर, जनताको रोजाइ सहर आसपास भएकोले हामीले सहर लक्षित काम गरेका छौं । आवश्यकता अनुसार हामी ग्रामीण क्षेत्रमा पनि काम गछौं । मुख्य कुरा कित्ताकाट रोकिनुभएन । प्रदेशको राजधानी हेटौंडामा आएर बासोबास गर्छु , जग्गा किन्छु, घर बनाउँछु भन्ने धेरैको इच्छा हुन्छ । तर, त्यो वातावरण हेटौंडा उपमहानगरपालिकाले बनाउन सकेन ।

यसरी सम्पूर्ण जग्गा ओगटेर हुँदैन । बरु यो जग्गामा बासोबास गर्नहुन्छ, यो जग्गामा हुँदैन भनेर छुट्याइ दिनुपर्यो । हामी व्यवस्थित आवास परियोजनामा नगरपालिकाको मापदण्डमा बसेर काम गर्न तयार छौं । हामीलाई काम गर्ने वातावरण बनाइ दिनपर्यो ।

प्रश्नः वित्तीय क्षेत्रको सरलता र व्यवस्थापन कस्तो छ ?

उत्तरः वित्तीय क्षेत्रको व्यवस्थापनमा सरलता नै छ भन्दा फरक नपर्ला । जग्गा राखेपछि बैंकले ऋण दिन्छ । अलि चर्को ब्याज हो, त्यो बरु विस्तारै छलफल गर्दै गरौंला मुख्य कुरो कित्ताकाट नगरपालिकाले रोकेर हामीलाई कामनै गर्न नसक्ने स्थिति बनाएको छ । हामीले उपमहानगरपालिकालाई पटकपटक भनेका छौं । बुँदा सहितको सुझाव पनि दिएका छौं ।

मापदण्डमा बस्न हामी तयार छौं । उपमहानगरपालिकाले पनि पहल गरेको छ नगरेको त होइन, तर चासोको रुपमा नलिएको जस्तो हामीलाई महशुस भएको छ । चाँडै हुनुपर्यो भन्ने हाम्रो माग हो । चाँडै टुंग्याउनुपर्यो । किनभने अब बर्खा लाग्दै छ न मेयर साहेबले बर्खामा पानी देखेर सबै खेतीयोग्य जमिन हो पो भन्ने हो की ? त्यसकारण उपमहानगरपालिकाले चैत–बैशाख भित्रै यसको टुंगो लगाउनुपर्छ भन्ने हाम्रो माग हो ।

प्रश्नः  संघको आगामी योजना के के छन् ?

उत्तरः हाम्रो आगामी योजना भनेको व्यवस्थित सहर निर्माण गर्ने , व्यवसायीका समस्यामा मद्दत गर्ने, विस्तारै ग्रामिण भेगमा पनि काम सुरु गर्ने नै हो । तर, सहर केन्द्रीत हुने सबैको इच्छा हुन्छ । सहरमा हुने राम्रो विद्यालय, अस्पताललगायत कारणले सहर पहिलो रोजाइ बनेको हो । विस्तारै सरकारले गाउँमा पनि सेवा सुविधा विस्तार गरेपछि ग्रामिण भेगमा पनि गाउँमै बस्न मानिसहरु रुचाउन थाल्छन् ।

सहर छेउछाउ मानिसले खेती गरेको देखेर त्यसलाई खेतीयोग्य जमिन भन्न मिल्दैन । यस्तै भन्ने हो भने काठमाडौं, भक्तपुर, ललितपुरका सबै जग्गा मलिला छन् । त्यहाँ सबै कुरा उत्पादन हुन्छ । त्यसलाई पनि त खेतीयोग्य जमिन बनाउनुपर्यो नि, त्यसकारण हामीलाई अनावश्यक दुःख दिनु भन्दा पनि काम गर्ने वातावरण बनाइदिन सम्बन्धित निकाय समक्ष जाने हाम्रो आगामी पहल हुनेछ ।

वित्तीय क्षेत्रप्रति म कुनै दोष दिन चाहन्न । वित्तीय क्षेत्रले हामीलाई ऋण दिन हिच्किचाउनुको पनि त कारण छ । जबकी मसँग कित्ताकाट नै नभएपछि उसले मलाई कसरी ऋण दिन्छ ? कित्ताकाट होस् त बैंकले जति पनि ऋण दिन्छ, बैंकसँग जति पनि पैसा छ ।

नगरपालिकाले पनि काम सुस्त गरेको मात्रै हो पूर्ण रुपमा दोषी त होइन । हामीले हेटौंडा ६ चौघडामा ठूलो लगानीमा उत्कृष्ट आवास परियोजना अघि सारेका छौं । हामी २ महिनाभित्र त्यो पूरा गर्छौं । घर जग्गा व्यवसायीको मिहेनत र प्रतिबद्धता के हो ? त्यो परियोजना पूरा भएपछि सबैले थाहा पाउनेछन् ।

प्रश्नः अन्त्यमा के भन्नु चाहानुहुन्छ ?

हामी व्यवस्थित सहर निर्माणको अभियानमा लागेका छौं । कानूनी दायरामा रहेर काम गर्न हामी प्रतिबद्ध छौं । हामीलाई काम गर्ने वातावरण मिलोस् । हाम्रा कमीकमजोरी भए हामी सुधार गर्न पनि तयार छौं । सञ्चार जगतको पनि हामीलाई निकै ठूलो सहयोग मिलेको छ ।

तपाईले पनि आफ्नो मिडियामा हाम्रा कुरा राख्ने अवसर दिनु भयो त्यसका लागि म निकै आभारी छु । धन्यवाद ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*