प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, साम्यवादी व्यवस्था होइनः कमल थापा
हेटौंडा, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रको मौजुदा संविधान, गणतान्त्रिक प्रजातन्त्रलाई दिगो र सर्वमान्य तुल्याउन संघीय सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा संकट आइपर्ने बताउनुभएको छ ।
७० औं प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित एक समारोहलाई अध्यक्ष थापाले सम्बोधन गर्नुहुँदै प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो तर साम्यवादी व्यवस्था नभएको जिकिर गर्नुभयो ।
उहाँले २००७ सालको प्रजातन्त्र स्थापनाको लागि योगदान गर्ने त्रिभुवनलाई प्रमुख दलहरुले अहिले बिर्सिएको र भविष्यका युवा पुस्ताले ती इतिहासको अनुसन्धान र अध्ययन गर्नबाट बन्चित हुँदा नेपालको अस्तित्व लोप हुने खतरा बढेको बताउनुभयो
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका थापाले भ्रष्टाचारलाई नियन्त्रित गर्न कानूनले मात्रै नभई राजनीतिक दलहरुको नेतृत्वको छबि पनि स्वच्छ हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमा राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य रामहरी न्यौपाने, राप्रपा मकवानपुरका नेता सीताराम बर्तौला र राप्रपा हेटौंडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाले मनतव्य व्यक्त गर्नुभएको थियो ।
