हेटौंडा–भरतपुर प्रसारण लाइनको ठप्प काम फेरि चैतदेखि
हेटौंडा, २९ माघ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअन्तर्गत हेटौंडा–भरतपुर खण्डको यसअघि पूर्ण रुपमा ठप्प भएको काम फेरि चैतबाट मात्र सुरु हुने भएको छ ।
भारतीय कम्पनीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर खण्डको काम पूर्ण रूपमा ठप्प बनेको थियो । ठेक्का तोडेको करिब एक वर्षपछि प्रसारण लाइनको काम पुनः सुरु हुन लागेको हो ।
‘टेन्डर आह्वान भइसक्यो । अहिले प्राविधिक र आर्थिक मूल्यांकन भइरहेको छ,’ आयोजना प्रमुख ईश्वरी जैसवालले भने, ‘प्राधिकरण चैतको पहिलो सातादेखि काम सुरु गर्ने तयारीमा छ ।’
विश्व बैंकको ऋणमा निर्माण भएको उक्त आयोजनाप्रति विश्व बैंकले नै असन्तुष्टि जनाएपछि ठेक्का रद्द गरिएको आयोजना प्रमुख जैसवालले बताए ।
हेटौंडा–भरतपुर प्रसारण लाइनको काम ६४ प्रतिशत सकिएको अवस्थामा ठेक्का रद्द गरिएको थियो । सन् २००९ मार्च ९ मा दुई वर्षभित्र सम्पन्न हुने गरी आइकन टेली लिमिटेड भारतसँग सम्झौता गरेको प्राधिकरणले ११ पटकसम्म म्याद थप गरेको छ ।
एक अर्ब ६० करोड रुपैयाँमा काम सुरु गरेको कम्पनीले लगानी जुटाउन नसकेपछि प्राधिकरणले २०७६ वैशाख ६ गते सम्झौता तोडेको थियो ।
‘तोकिएको समयभन्दा करिब आठ वर्ष ढिला सुरु हुँदासमेत काम सम्पन्न हुने छाँट नदेखिएपछि प्राधिकरणले पुरानो ठेक्का रद्द गरेको थियो । तोकिएको समयभित्र सक्ने सहमति गरेर मात्र थाल्नेछौं,’ जैसवालले भने, ‘विश्व बैंकको वित्तीय स्वीकृति आउन ढिलाइ हुँदा टेन्डर आह्वानको काम केही समय सरेको हो । अक्टोबरमै टेन्डर आह्वान गरे पनि कम्पनीहरूको प्राविधिक र वित्तीय अवस्थाको प्रारम्भिक मूल्यांकनमा केही समय लाग्यो ।’
उनका अनुसार पाँच वटा कम्पनीले टेन्डर हालेका छन् । काम सुरु भएको मितिबाट १५ महिनाभित्र सम्पन्न हुने गरी करिब एक अर्ब रुपैयाँ बराबरको टेन्डर आह्वान गरिएको जैसवालले बताए ।
‘पहिलाको टेन्डरअनुसार एकोहोरो प्रसारण लाइन बनाउनुपर्ने थियो । अहिले दोहोरो प्रसारण लाइन बनाउनुपर्ने गरी नयाँ मोडल तयार भएको छ,’ उनले भने, ‘यही कारण टेन्डर आह्वान समय लाग्यो ।’
हेटौंडा–भरतपुर प्रसारण लाइनमा दुई सय २६ वटा टावर निर्माण गर्नुपर्नेमा एक सय ६४ वटा बनेका छन् । आयोजनाअन्तर्गत भरतपुर–बर्दघाट खण्डको काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।
भरतपुर–बर्दघाट प्रसारण लाइनको काम करिब ७० प्रतिशत सकिएको आयोजनाको दाबी छ । चिनियाँ कम्पनी हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनी लिमिटेडले उक्त क्षेत्रको काम गरिरहेको छ ।
५५ लाख डलरमा सम्झौता भएको उक्त प्रसारण लाइनको काम चालु आर्थिक वर्षमा नै सकिने आयोजनाको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
