राष्ट्रिय तेक्वान्दोमा हेटौंडा तेस्रो, महतले बुझे ट्रफी

तु खबर संवाददाता
२०७६ माघ २७, सोमबार १२:५८

हेटौंडा, २७ माघ । तेस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी करिब २० वटा नगरपालिकालाई पन्छाउँदै हेटौंडा उपमहानगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ ।

चितवनको माडी नगरपालिकामा माघ २३ देखि २५ गतेसम्म भएको प्रतियोगितामा हेटौंडाले ३ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ । पुरुषतर्फ ४५ केजी तौल समूह मुनीको प्रतिस्पर्धामा सरोज विक, ५१ केजी तौल समूह मुनीको प्रतिस्पर्धामा विप्लव वाइवाले स्वर्ण जिते ।

त्यस्तै महिलातर्फ ५३ देखि ५७ केजी तौल समूहको प्रतिस्पर्धामा विविका थापा मगरले स्वर्ण जितिन् । हेटौंडाको प्रतिनिधित्व गर्दै १२ जना खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय तेक्वान्दो संघ नेपाल मकवानपुरको संयोजनमा हेटौंडाको टोली सहभागी थियो ।

प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै जितेको ट्रफी आज सोमबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतलाई हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष मदन कुमार श्रेष्ठ, प्रशिक्षक र खेलाडीहरुले संयुक्तरुपमा नगर प्रमुखलाई ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*