रामनारायण विडारीले भने– ‘नेपालको गुप्तचर संयन्त्रले न गुप्तचरी गर्न जान्यो, न देश र जनताको हित’
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारी मुलुकको गुप्तचर संयन्त्रविरुद्ध प्रश्न गरेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग, जनसम्पर्क लगायत विभिन्न नाम राखेर युगदेखि सञ्चालन हुँदै आएका गुप्तचरी संयन्त्र केही कर्मचारीका लागि तलब खाने अड्डामात्र भएको बताए । त्यस्तो अड्डामा सीप, क्षमता, इमान नभएका मान्छेको हालीमुहाली रहेको बिडारीले बताए ।
राष्ट्रियसभाको आज बुधबार बसेको बैठकमा बोल्दै उनले मुलुकका ऐतिहासिक दस्तावेजहरु विदेशमा पुग्दा, प्राचीन मूर्तिहरु बेचिँदासमेत गुप्चतर निकायले पत्तो पाउन नसकेको भन्दै यस्ता संस्थाको औचित्यमाथि प्रश्न गरे ।
‘यसलाई पुरानो भाषामा गुप्तचरी अड्डा भनिन्छ,’ उनले भने, ‘न यसले गुप्तचरी गर्न जान्यो, न यसले देश र जनताको हित गर्न जान्यो । सिर्फ यसले शासकको चाकडी गरेर अहिलेसम्म बितायो ।’
उनले प्रश्न गरे, ‘नेपालको राष्ट्रिय महत्वको दस्तावेजहरु कहाँ छन्, कसले कतिमा कहिले विदेशीलाई बेच्यो, यो संस्थाले भन्न सक्छ ?
नेपालले विभिन्न मुलुकसँग गरेका सम्झौता, १९५० को नेपाल–भारतबीचको सन्धी, नेपालको युगौँ युगको बेग्लाबेग्लै नक्साहरु कहाँ र कुन अवस्थामा छन् भन्ने तथ्यसँग नेपालको गुप्तचर निकाय बेखबर रहेको उनले बताए ।
उनले नेपालका ठूला ठूला पदमा बस्ने जागिरे व्यक्तिहरु राति राति विदेशीहरुसँग भेट्ने गरेको, एजेन्टहरुसँग भेट्ने गरेको र सरकारलाई त्यसको जानकारी दिनु नपर्ने प्रवृत्तिले कर्मचारीहरु मुलुक र जनताप्रति इमानदार हुन नसकेको प्रष्ट पारे ।
त्यस्ता कर्मचारीले नेपालमा जागिर खाने, विदेशीका लागि काम गर्ने गरेको आरोप लगाउँदै उनले अवकाशपछि पनि कतिपयले विदेशीको जागिर खाने गरेको बताए ।
उनले ठूला ओहोदामा रहेकाहरुलाई अवकाशपछि पनि विदेशको स्थायी बसोबास लिन नपाउने गरी व्यवस्था हुनुपर्ने धारणा राखे ।
