राक्सिराङ गोल्डकपको उपाधि ३ नम्बर वडालाई
हेटौंडा, १८ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आयोजना गरेको दोस्रो राक्सिराङ गाउँपालिका गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन ३ नम्बर वडाले जितेको छ ।
गोल्डकपको फाइनलमा ४ नम्बर वडालाई ०–१ गोलले पराजित गर्दै दोस्रो पटक ३ नम्बर वडाले उपाधि उचालेको हो । खेलमा सुजनकुमार ओझाले निर्णायाक गोल गरे ।
खेलमा ४ नम्बर वडाले गोल गर्ने थुप्रै अबसरलाई सदुपयोग गर्न नसक्दा उपाधि जित्नबाट चुक्यो ।
राक्सिराङ–३ सरिखेतस्थित भर्याङकालिका खेल मैदानमा भएको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुस १८ गतेबाट भएको प्रतियोगितामा ९ वटा वडाको ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट मिडफिल्डरमा ४ नम्बर वडाका अनुष ब्लोन, उत्कृष्ट डिफेन्डर नवराज लो, उत्कृष्ट गोलकिपरमा ३ नम्बर वडाका सुदिपकुमार ओझा, उत्कृष्ट फरवार्डमा पुनर शाह, उत्कृष्ट प्रशिक्षक ३ नम्बर वडाका खेमराज लामा भए ।
उत्कृष्ट व्यवस्थापक ४ नम्बर वडाका जीवन मोक्तान घोषित हुँदा फाइनल खेलमा निर्णायक गोल गर्ने ३ नम्बर वडाका ओझा उत्कृष्ट खेलाडी चुनिए । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
राक्सिराङ गाउँपालिका खेलकुद समितिका संयोजक सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, गाउँपालिका खेलकुद विकास समितिका सदस्य सिंहराम ब्लोन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
