हेटौंडा सिमेन्टलाई प्रतिस्पर्धी बनाउन मन्त्रीले मागे योजना
हेटौंडा, १२ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओरालो लाग्दै गरेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको स्तरउन्नती गर्न चासो देखाएका छन् ।
कुनै बेलाको चर्चित हेटौंडा सिमेन्टको बजार अवस्था नाजुक छ । उद्योग आफैं धरायशी बन्दै गइरहेको छ । निजि उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने सिमेन्ट बनाउनु पर्ने भन्दै उद्योगको स्तरउन्नती गर्न सरकारले गम्भिर ढंगले सोचेको मन्त्री भुट्टले बताए ।
शनिबार साँझ हेटौंडा–९ स्थित हेटौंडा सिमेन्ट उद्योगको निरिक्षण गर्दै मन्त्री भट्टले बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्ने बताए । हेटौंडा सिमेन्ट उद्योगलाई बजारमा प्रतिस्पर्धी बनाउन के–के गर्नुपर्छ भन्दै मन्त्री भट्टले योजना मागेका छन् ।
उनले उद्योगको विकास र बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन संघीय सरकारले गर्नुपर्ने के–के हो प्रतिवेदन बनाएर योजना ल्याउन निर्देशन दिएका छन् । हेटौंडा सिमेन्टलाई बजार प्रतिस्पर्धामा पहिलो स्थानमा ल्याउन सकिने बताए ।
उनले हेटौंडा औद्योगिक क्षेत्रको अनुगमन गर्दै विदेशी लगानीबाट आन्तरिक लगानीकर्ता त्रसित भएको अभिव्यक्ति आइरहेको बताएका छन् । औद्योगिक क्षेत्रमा उद्योग संघका पदाधिकारीसँगको भेटमा उद्योगमन्त्री भट्टले आन्तरिक र बाह्य लगानीबीच फ्यूजन हुनु जरुरी रहेको बताए ।
निजी क्षेत्र प्रोत्साहित गर्ने र औद्योगिक नीति कसरी लगानीमैत्री बनाउने भन्ने बिषयमा मन्त्रालयले छलफल गरिरहेको पनि मन्त्री भट्टले बताए । सरकारले चाहेको समृद्धिका लागि आयात घटाएर, व्यापार घाटा कम गर्ने गरी अगाडि बढ्नु जरुरी रहेको उनले बताए ।
