प्रदेशको नाम बागमती राखेपछि प्रचण्ड र मन्त्री बाँस्कोटालाई ‘प्रवेश निषेध’

तु खबर संवाददाता
२०७६ माघ १२, आईतवार १०:१८

हेटौंडा १२ माघ । प्रदेश नम्बर ३ लाई बागमती नामाकरण गरिएको भन्दै काभ्रेको एक बस्तीमा नेकपा नेताहरुलाई प्रवेश निषेध गरिएको छ ।

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सूचना तथा सञ्चार मन्त्री काभ्रेका गोकुल बाँस्कोटालाई बस्ती प्रवेशमा निषेध गरिएको चेतावनीसहितको पर्चा टाँसिएको छ । प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले निर्णय गरेको थियो ।

बागमती प्रदेशसभामा दुईतिहाई रहेको नेकपाले पुस २७ गते मतदान प्रक्रियाबाट प्रदेशको नाम बागमती र स्थानीय राजधानी हेटौंडा राख्ने सर्वसम्मतले पारित गरिसकेको छ । पहिचानको मुद्दा लिएर हिँड्ने हरुले प्रदेशको नाम बागमती राखेको भन्दै विरोध जनाइरहेका छन् । प्रदेशसभामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमा नेवाः ताम्सालिङको प्रस्ताव नै गएन् ।

प्रदेशको नामाकरण पहिचान सहितको संघीयताको विरुद्ध रहेको भन्दै काभ्रेमा नेकपाका अध्यक्ष प्रचण्ड र मन्त्री बाँस्कोटालाई प्रवेश नदिने चेतावनी दिइएको छ । काभ्रेको महाभारत गाउँपालिकाका युवाहरुले आफ्नो गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिएका हुन् ।

पहिचान सहितको संघीयता विपरीत प्रदेशको नाम बाग्मती राखिएको भन्दै उनीहरुले नेकपाका नेताहरुलाई प्रवेशमा रोक लगाउने चेतावनी दिएका हुन् । प्रवेश निषेध लेखिएका पर्चाहरु जताततै टाँसिएका छन् । उनीहरुले प्रदेशको नाम नेवाः तामसालिङ राख्न पनि माग गरेका छन् ।

महाभारत गाउँपालिकाका युवाहरुले प्रचण्डलगायतलाई होसियार रहन् भन्दै गाउँपालिकाका जनतालाई झुटो आश्वास नचाहिने र यो पवित्र भूमिमा प्रवेश गर्न नपाउने बताएका छन् । पर्चामा उल्लेख भए अनुसार अन्य २ नेताहरुलाई पनि प्रवेश निषेध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*