हेटौंडा कपडा उद्योग बारे छिट्टै निकासः उद्योग मन्त्री भट्ट

तु खबर संवाददाता
२०७६ माघ ११, शनिबार १९:२५

हेटौंडा, ११ माघ । संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगको बारेमा छिट्टै मन्त्रालयले निकास निकाल्ने बताएका छन् ।

क्षेत्रफलको हिसाबले देशकै ठूलो औद्योगिक क्षेत्र हेटौंडामा रहेको कपडा उद्योग चलाउने वा नचलाउे भन्ने विषयमा मन्त्रालयले तत्काल निर्णय गर्ने मन्त्री भट्टले बताए । आज शनिवार हेटौंडा औद्योगिक क्षेत्रको अवलोकन गर्दै भग्नावशेष हेटौंडा कपडा उद्योगको उनले अनुगमन गरेका थिए ।

‘हेटौंडा औद्योगिक क्षेत्रमा भएको कपडा उद्योग चलाउने वा के गर्ने छिट्टै निर्णय गर्छौ ।–’ मन्त्री भट्टले भने । कपडा उद्योगमा भएको तत्कालिन नेकपा माओवादी केन्द्रको महाधिवेशनमा त्यो उद्योग कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको मन्त्री भट्टले बताए ।

उनले अधिवेशनमा कपडा उद्योगको बारे चासो राखे पनि आजसम्म केही हुन नसकेको भन्दै अब छिट्टै निकास निस्किने उनको भनाई थियो ।

मन्त्री भट्टले निजी क्षेत्र प्रोत्साहित गर्ने विषयमा सरकार गम्भिर भएको बताए । औद्योगिक नीति कसरी लगानी मैत्री बनाउने भन्ने विषयमा छलफल भइरहेको उनको भनाई थियो ।

मन्त्री भट्टले आयात घटाएर व्यापार घाटा कम गर्ने बताए । बागमती प्रदेश भित्रका औद्योगिक क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गरेर संघीय सरकारले नीति निर्माण मात्रै गर्ने भन्ने बारे छलफल भइरहेको उनले बताए ।

छिमेकी राष्ट्र चीनको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग करिब १९ वर्षदेखि बन्द अवस्थामा रहेको छ । चीन सरकारको लगानीमा २०३२ सालमा निर्माण भएको हेटौंडा कपडा उद्योग २०५७ साल फागुन १ गतेबाट बन्द भएको हो ।

अस्थिर सरकारका कारण उद्योग सञ्चालन गर्ने वा लिक्विडेसनमा लैजाने भन्नेबारे अन्योल हुँदा २२ वर्षसम्म सञ्चालन भएको उद्योग हाल पूर्ण रुपमा बन्द अवस्थामा पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*