मुख्यमन्त्री पौडेलले गरे राष्ट्रियसभा निर्वाचनमा पहिलो मतदान
हेटौंडा, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत आज सातै प्रदेशमा मतदान भइरहेको छ । आज बिहीबार कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
बागमती प्रदेशअन्तर्गत् ललितपुर महानगरपालिका वडा नम्बर ४ समितिको भवनमा रहेको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् । बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले ६ जनाको उम्मेदवारी रहेको छ ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरेका छन् ।
राष्ट्रिय सभा सदस्यका रिक्त १८ पदका लागि अहिले सातै प्रदेशमा मतदान जारी छ । दिउसो २ बजेसम्म ९० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् ।
मतदान केन्द्रमा पुगेर मतदाता बिहान १० बजेदेखि नै लाइनमा बसेको देखिन्थ्यो । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।
सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।
निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ ।
