बागमती प्रदेशले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ सहायता रकम वितरण गर्ने

तु खबर संवाददाता
२०७६ माघ ६, सोमबार १३:०५

हेटौंडा, ६ माघ । बागामती प्रदेश सरकारले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ सहायता रकम वितरण गर्ने भएको छ । द्वन्द्व प्रभावित व्यक्ति तथा परिवारलाई स्वास्थ्य उपचार, सीप विकास र स्वरोजगारमूलक व्यवसायका लागि प्रदेशले सहायता रकम प्रदान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले द्वन्द्व प्रभावितलाई सहायता रकम माग गर्न निवेदन पेस गर्न आह्वानसमेत गरिसकेको छ ।

फागुन मसान्तसम्मको समयसीमा निर्धारण गरी सम्बन्धित स्थानीय तहमार्फत सहायता रकमका लागि निवेदन दिन सूचना प्रकाशित गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञानदीप राईले जानकारी दिए ।

सूचना अधिकारी राईका अनुसार गणतन्त्र प्राप्तिका लागि भएका अन्दोलनमा बेपत्ता भएका, घाइते तथा अपांग भएका, द्वन्द्वबाट प्रभावित परिवारलाई स्वास्थ्य, सीप विकास एवम् व्यवसायमा सहयोग गर्न
सहायता रकम प्रदान गरिनेछ ।

जिल्ला प्रशासन कार्यालयमार्फत द्वन्द्व प्रभावित परिचयपत्र पाएकाहरूले कार्यविधिमा तोकिएबमोजिम कागजातसहित तीन शीर्षकमा सहायता रकम माग गर्न सक्नेछन् ।

प्रदेशले बनाएको कार्यविधिअनुसार औषधि उपचारका लागि प्रति प्रभावितले बढीमा २५ हजार रुपैयाँसम्म पाउनेछन् । त्यसका लागि सरकारी अस्पतालमा उपचार तथा औषधि गर्दा लागेको खर्च तथा बिरामी र कुरुवाको खानाको बिल पेस गर्नुपर्नेछ । बिमाले समेट्न नसकेका रोग लागेका बिरामीलाई पनि स्थानीय समितिको सिफारिसबमोजिम रकम प्रदान गरिने राईले बताए ।

१३ जिल्लाका ११९ वटा स्थानीय तहका लागि विनियोजन गरिएको कुल पाँच करोड रुपैयाँमध्ये गत वर्ष एक करोड ९० लाख रुपैयाँ मात्र खर्च भएको थियो ।

प्रदेशका ११९ स्थानीय तहमध्ये ४५ वटाबाट मात्र द्वन्द्व प्रभावितको प्रस्ताव परेको थियो । गत वर्ष शिक्षातर्फ २६१ जनालाई छात्रवृत्ति, ४८१ जनालाई औषधि उपचार र १५३ जनालाई सीप विकासका लागि मन्त्रालयले स्थानीय तहमार्फत रकमउपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*