हेटौंडादेखि धुलिखेलसम्म ५ महिनाभित्र बिजुली बस चल्ने
हेटौंडा, ५ माघ । । बागमती प्रदेश सरकारले अबको ५ महिनाभित्र बिजुली बस चलाउने भएको छ । हेटौंडादेखि भरतुर, काठमाडौं हुँदै धुलिखेलसम्म यही आर्थिक वर्षभित्र बिजुली बस चलाउने भएको हो ।
प्रदेश सरकार आफैंले बिजुली बस चलाउन लागेको हो । आज आइतबार हेटौंडास्थित मुख्यमन्त्री निवासमा काठमाडौं, ललितपुर, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, बुढानिलकण्ठ, टोखा, धुलिखेल नगरपालिका र गजुरी, गल्छीलगायतका गाउँपालिकासँग बिजुली बस सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।
निकट भविष्यमै यातायात निगम गठन गरेर यो आर्थिक वर्षभित्र बिजुली बस चलाउने योजना अघि सारेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् विद्युतीय यातायात एवम् सरसफाई मेसिन सञ्चालन समितिका अध्यक्ष दीपक निरौलाले तु खबरलाई बताए । निरौलाले अबको ५ महिनाभित्र हेटौंडादेखि काठमाडौं र त्याहाँबाट धुलिखेलसम्म बजिुली बस सञ्चालन हुने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यही महिनाभित्र बस खरिद प्रक्रिया अगाडि बढाइने निरौलाले बताए । उनका अनुसार बस खरिदको लागि ग्लोबर टेण्डर गर्ने जानकारी दिए ।
बिजुली बस सेवा सञ्चालनका लागि चार्जिङ स्टेशन निर्माण तत्कालै गरिने निरौलाले बताए । विद्युतीय बस चार्ज गर्न हेटौंडा, भरतपुर, गजुरी, गल्छि काठमाडौं र धुलिखेलमा स्टेशन बनाउने योजना उनले सुनाए । स्टेसन निर्माणको लागि गजुरी र गल्छि गाउँपालिकाको क्षेत्रमा स्थान खोज्न स्थानीय तहलाई जिम्मावारी दिइएको छ ।
हेटौंडाबाट भरतपुर हुँदै काठमाडौंसम्म २२७ र काठमाडौंबाट धुलिखेल ३० किलोमिटर दुरी हुनेछ । प्रदेश सरकारले विद्युतीय बस खरिद तथा सञ्चालनमा १ सय १९ वटै स्थानीय तहलाई लगानी गर्न आह्वान गरेको छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बस खरिदका लागि महानगरले १० करोड लगानी गर्ने बताए ।
यसकारण तोडियो साझासँग सहमती
बागमती प्रदेश सरकारले यसअघि निजी क्षेत्रको साझा यातायातसँग बिजुली बस चलाउन सहमती गरेको थियो ।
बागमती प्रदेशले बिजुली बस सञ्चालन गर्न ३० करोड साझालाई दिने निर्णय गरेको थियो । तर, साझासँग सहमती तोड्दै अब बागमती प्रदेश आफैंले बिजुली बस चलाउने भएको हो ।
समितिका अध्यक्ष निरौलाले साझा यातायात आफ्नै ढंगबाट चल्न खोजेपछि सहमति तोडिएको तु खबरलाई जानकारी दिए ।
प्रदेश सरकारले एसीसहितको बिजुली बस सञ्चालन गर्नुपर्ने सहमती गरेको थियो । तर, साझाले एसी नभएको बस खरिद गर्न खोजेपछि सहमती तोडिएको उनले बताए ।
निरौलाले बस खरिदलगायतका विषयमा साझा यातायातले प्रदेश सरकारसँग छलफल नगरेको बताए । छलफल बिनै बस खरिद र सञ्चालनको प्रक्रिया अगाडि बढाउन खोजेपछि सरकारले साझासँगको सहमतीबाट हात झिकेको हो ।
