‘नागरिकताकै अभिलेख सरकारी निकायसँग छैन’

तु खबर संवाददाता
२०७६ पुष १७,बिहीबार १२:०३

हेटौंडा, १७ पुस । प्रदेश ३ का प्रमुख सचिव तोयम राईले नागरिकताकै अभिलेख सरकारी निकायसँग नभएको भन्दै डिजिटल माध्यमबाट महत्वपूर्ण कागजातको अभिलेख राख्नुपर्ने बताएका छन् ।

उनले नागरिकताकै अभिलेख सबै निकायसँग नभएको भन्दै अब डिजिटल व्यवस्थामा लैजान ढिलो भएको बताए । ‘नागरिककै अभिलेखको पूरा रेकर्ड सरकारी कार्यालयमा छैन । कुनैपनि अभिलेख सिस्टम मार्फत देशैभरी हेर्न सक्ने बनाउनु पर्छ ।–’ राईले भने ।

बिहीवार हेटौंडामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको सञ्चार तथा सूचना प्रविधि सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचिव राईले सञ्चार प्रविधिलाई प्रयोग गर्न नजानेको बताए ।

सूचना व्यवस्थित गर्न आवश्यक रहेको बताउँदै राइले सञ्चार प्रविधिलाई व्यवस्थित र स्वचालित बनाएर अगाडि बढाउनु पर्ने धारणा राखे । उनले पत्रकारहरुले सरकारी निकायसँग सूचना माग गर्दा सूचनाको हक प्रयोग गर्नुपर्ने स्थिति आउन नहुने बताए ।

सबै निकायले पत्रकारलाई सूचना छिटो उपलब्ध गराउन प्रमुख सचिव राईले निर्देशन दिए । ‘कार्यालयका सूचना दिन मिल्ने र नमिल्ने के हो यकिन गर्नुस । सूचना माग्न आउँदा पत्रकारहरुलाई तत्काल सूचना दिनुस ।–’ कार्यक्रमबाटै राईले निर्देशन दिए ।

सूचना प्रविधिको हिसाबले प्रदेश ३ लाई पहिलो प्रदेश बनाउने राईले अठोट गरे । ‘प्रविधिमा हामी पछाडि छौँ । अब प्रविधिमा पोख्त हुनुपर्छ, यसमा क्षमता बढाउनु पर्छ ।–’ प्रमुख सचिव राईको भनाई थियो ।

कार्यक्रममा प्रदेश ३ का प्रेस रजिष्ट्रार रेवति सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभरका पत्रकारहरुको अभिलेख राख्नुपर्ने बताए । उनले प्रविधिले अपराध पनि बढाएको भन्दै यसलाई व्यवस्थित गर्दै नियमन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा आम सञ्चार नीति २०७३, डिजिटल हस्ताक्षर, सूचनाको हक कार्यान्वयनमा सेवा प्रदायकको भूमिका र वर्तमान अवस्था, इमेल निर्देशिका, विज्ञापन –नियमन) ऐन २०७६ र डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी प्रस्तुती दिइने छ ।

कार्यक्रममा प्रदेश ३ भित्रका मन्त्रालय, सरकारी निकाय, पत्रकारलगायतकाको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*