मूख्यमन्त्री पौडेलको प्राथमिकतामै परेन प्रदेश राजधानी कहाँ रहला र नाम के होला ?
मकवानपुर । मूख्यमन्त्री डोरमणि पौडेल मुख्य मुद्धा छोडेर अन्यत्र बढी समय दिन थालेका छन् । अहिले प्रदेश ३ को स्थायी राजधानी र यसको नामाकरण मूख्य मुद्धा भएपनि उनले यसबारे आफ्नो संसदीय दलमा समेत छलफल गर्न सकेका छैनन् । सार्वजनिक कार्यक्रमहरुमा राजधानी साता दिनभित्र कहिले १५ दिन भित्र टुङ्ग्याउँछु भन्दै बोल्दै हिड्ने मूख्यमन्त्रीले राजधानीको विषयमा आफ्नै दलभित्र एकपटक पनि विषय प्रवेश समेत गराएका छैनन् ।
नेकपा संसदीय दलका नेता समेत रहेका पौडेलले राजधानी र यसको नामाकरणको विषयमा आफ्नै दलभित्र सामान्य छलफल गराउन सकेका छैनन् । दलभित्र सामान्य विषय प्रवेश गराउन नसकेका उनले आफ्नै पार्टीका केन्द्रीय नेताहरुलाई बोल्न लगाएर विवादित बनाउने प्रयास गरिरहेका छन् । केही दिनअघि मकवानपुर आइपुगेका अध्यक्ष प्रचण्डलाई राजधानी हेटौंडा नै रहने र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने भनेर बोल्न लगाए । नेकपा संसदीय दल स्रोतले भने यस विषयमा दलको बैठकमा कहिल्यै छलफल नभएको बतायो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सिन्धुलीमा भएको राष्ट्रिय भेलामा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सालिक राम जम्मकट्टेलले आफ्नो व्यक्तिगत धारणाको रुपमा ३ नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्नुपर्ने बताए । संघीयता, समावेशी राज्यको माग खोला नालाले नगरेको भन्दै बाग्मति प्रदेश राख्न उचित नहुने उनको धारणा थियो । यद्यमी बाग्मति नै चाहिने हो भने नेवा ताम्सालिङ बाग्मति प्रदेश नाम राख्नु उचित हुने उनले बताएका थिए । तर, मन्त्री जम्मकट्टेलले प्रदेशको राजधानी कहाँ रहँदा उचित हुने भन्ने बारे केही बोलेनन् ।
पौडेल अहिलेपनि गोष्ठी, सेमिनार र अनुगमन जस्ता खुद्रे काममा समय खर्च गरिरहेका छन् । उनले राजधानी र यसको नामाकरणबारे घनिभूत छलफल गराउन सकेका छैनन् । उनले एउटै परियोजना बारम्बार अनुगमन गरिरहेका छन् तर त्यसको उपलब्धी के हो भन्ने बारे पुष्टि गर्न सकेका छैनन् । उनी आफै नजाँदा हुने योजनाहरुमा समेत गएर समय खर्च गरिरहेका छन् ।
