मुख्यमन्त्री पौडेलद्वारा हेटौँडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन
हेटौंडा, २३ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन गरेका छन् ।
बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा ३ नम्बर प्रदेश सरकारले अग्रसरता देखाएपछि धमाधम अगाडि बढेको छ ।
अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै काम सक्न निर्देशन दिँदै उनले भने, ‘देशकै उत्कृष्ट खेल मैदान बनाउने लक्ष्य छ ।’
यही बर्ष फुटबल, क्रिकेट खेलका लागि मैदान तयार हुने गरी काम भैरहेको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।
प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकमले फुटबल मैदान बनाउने काम भइरहेको छ ।
हाल धमाधम फुटबल चौरको काम भैरहेको छ भने पुस महिनाभित्र दुबो समेत रोपिसक्ने लक्ष्य रहेको समितिको भनाई छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रतिष्ठान परिसरमा विभिन्न खेलको पूर्वाधार निर्माण गर्न १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘यो हाम्रो प्रदेशको गौरवको योजना भएकाले बजेटको कमीले अब काम रोकिँदैन’, मुख्यमन्त्री पौडेलले भने ।
प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुनेछ।
