‘देशमा समृद्धि आउनको लागि सहकारीको ठूलो भूमिका छ’ : मुख्यमन्त्री पौडेल
मकवानपुर, २१ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशमा समृद्धि आउनको लागि सहकारीको भूमिका रहेको बताएका छन् ।
शनिबार (आज) हेटौंडामा मकवानपुर नमुना प्रगति साकोसको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
उनले सहकारीले अब बचत गर्ने र ऋण लिने काम मात्र नभई उत्पादनसंग जोडिएर लगानी गर्नुपर्ने बताए ।
उत्पादनसंग जोडिएर काम गर्दा रोजगारी सिर्जना हुने, आर्थिक वृद्धि रहने हुनाले सो तर्फ लाग्न मुख्यमन्त्री पौडेलले आग्रह गरे ।
उनले सहकारी मार्फत लगानी गरिएका कृषि तथा पशुजन्य क्षेत्रबाट उत्पादित वस्तुलाई विचौलियाबाट बच्न सहकारी मार्फत नै किनबेच गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताए ।
उक्त सभामा प्रदेश ३ का प्रदेशसभा सदस्य मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष बद्री प्रसाद लम्साल, नेपाल दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, लगायत विभिन्न जिल्ला सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सभा संस्थाका अध्यक्ष मिठाराम दहालको सभाध्यक्षतामा भएको हो ।
