कर्मचारीहरुले शिष्टतापूर्वक राष्ट्रिय महत्वका विषयमा कार्यान्वयन गर्न प्रमुख सचिव घिमिरेको आग्रह

तु खबर संवाददाता
२०७६ मंसिर २०, शुक्रबार १६:०२

हेटौँडा, २० मंसिर । प्रदेश ३ को प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले प्रदेशसभाको बैठकमा प्रदेशसभाका सदस्यहरुले उठाउने राष्ट्रिय महत्वको विषयलाई कर्मचारीहरुले शिष्टतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

प्रदेशसभा सचिवालयद्वारा स्थानीय कर्मचारीहरुलाई संसदीय अभ्यासको साथै सचिवालयमा सू–व्यवस्थित ढंगबाट विधेयक दर्ता र बैठक संचालनमा आईपर्ने समस्यालाई निकास दिने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई शुक्रबार (आज) समापन गर्दै सचिव घिमिरेले सो कुरा बताएका हुन् ।

प्रमुख सचिव घिमिरेले प्रदेशसभाका सभामुख, उपसभामुख, सत्तारुढ नेकपा संसदीय दल, नेपाली काँग्रेस संसदीय दललगायत अन्य दलहरुसँग पनि कार्यसूची अनुसार छलफल गरी बैठकलाई अगाडी बढाएको र प्रदेशसभाका सदस्यहरुबाट आइपरेका समस्याहरुलाई तत्काल सहजीकरण गरी जनतालाई छिटोछरितो सेवा उपलब्ध गराउनेतर्फ अहिलेको प्रशिक्षण अत्यन्तै उपयोगी भएको जानकारी दिए ।

उक्त प्रशिक्षणमा स्रोत व्यक्ति लबप्रसाद गौतम र ठाकुर बरालले संसद सचिवालयले आफ्नो नियमावली अनुसार, कार्य परामर्श समितिको बैठकले अनुमोदन गरे अनुरुप कार्यसंपादन गर्नुपर्ने र सांसदहरुले अभिव्यक्त गर्नुभएको राष्ट्रिय महत्वको साथै दैविक प्रकोपबाट पीडित नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने कार्यको सुचनालाई प्रदेश सरकारमा पुर्याउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

सो कार्यक्रममा प्रदेशसभा सचिवालयका प्रमुख सचिव, सह–सचिव, कानुन अधिकृत, प्रशासकीय अधिकृत र सहायक कर्मचारीहरु गरी ३७ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*