निर्वाचन आयोग : राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा

तु खबर संवाददाता
२०७६ मंसिर १८, बुधबार १६:५०

काठमाडौं, १८ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ ।

रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्र्ने कानूनी व्यवस्था रहेको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा.युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ ।
फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*