विद्याले जोगाइन् विरासत

२०७६ मंसिर १६,सोमबार ०९:१४

कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर भट्टराई सांसद बनेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा पौडेलका लागि १५ हजार ९ सय ९१ मत खसेको थियो ।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको एकमात्र क्षेत्र हुनुका साथै दिवंगत रवीन्द्र अधिकारीले तीन पटकसम्म जितेको ठाउँ भएकाले यहाँको मतपरिणाममाथि सबैको चासो थियो । यस क्षेत्रबाट अधिकारी दुइटै संविधानसभाको निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । अधिकारी पत्नी भट्टराईले उपनिर्वाचन जितेसँगै श्रीमान्ले ह्याट्रिक गरेर रचेको कास्कीको राजनीतिक इतिहासलाई जोगाएकी छन् ।

उपनिर्वाचनमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत ल्याए । राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाए । साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मतमा चित्त बुझाउनुपर्‍यो ।

जितपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले जनतामाझ गएर प्रतिबद्धता व्यक्त गर्ने बताइन् । ‘हामी कार्ययोजना बनाएर अघि बढ्छौं,’ उनले भनिन्, ‘पूर्वाधार विकासका काम, सामाजिक न्यायका कुराका साथै पोखरालाई प्रमुख पर्यटकीय राजधानी बनाउन भूमिका खेल्नेछु ।’

उनले आफ्नो जितलाई रवीन्द्रप्रतिको सम्मान भएको बताइन् । ४७ वर्षीया भट्टराई लामो समयको राजनीतिक विश्रामपछि त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर चुनावमा होमिएकी थिइन् । तत्काली पर्यटनमन्त्री अधिकारीको निधनपछि उनलाई पोखरेलीले चिन्ने अवसर पाएका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*