‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’

तु खबर संवाददाता
२०७६ मंसिर ७, शनिबार ०८:३२
file-photo

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे ।

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुपर्‍यो, स्थायित्व हुनुपर्‍यो । विकास निर्माणले गति लिनुपर्‍यो,’ उनले आफ्नो खुमलटार निवासमा शुक्रबार कान्तिपुरलाई अन्तर्वार्ता दिँदै भने, ‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’

अध्यक्ष दाहालले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरूको अन्त्य भएको पनि उल्लेख गरे ।

‘एउटा अध्यक्ष फुर्सदिलो जस्तो, कताकता हिँडिरहेजस्तो, अर्को अध्यक्षले बैठक पनि गरेको छ, प्रधानमन्त्री पनि छ, काम पनि ओभरलोडजस्तो भन्ने फिलिङ पार्टी पंक्तिलाई थियो,’ उनले भने, ‘अध्यक्षहरूकै बीचमा छलफल हुँदा पनि त्यो भाव झल्किन्थ्यो । अब त्यो स्थितिको अन्त्य भयो । दुवै अध्यक्ष कार्यकारी भूमिकासहितका भयौं ।’

दुवै अध्यक्षको कार्यकारी भूमिका स्पष्ट गर्ने हालैको निर्णयले सरकार र पार्टी सञ्चालनमा सहज हुने उनको भनाइ थियो । उनले तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएयताको डेढ वर्ष आफूलाई ‘सेरेमोनियल अध्यक्ष’ भएजस्तो महसुस भएको अनुभूति पनि सुनाए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*