मौरीको टोकाइबाट ३ वर्षीय बालकको मृत्यु

मकवानपुर, ५ मंसिर । वनमौरीको टोकाइबाट सर्लाहीको मलंगवा–७, मुसैलीमा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका ३ वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र छोरा ४ वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि गएराति मलंगवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।