मन्त्रिपरिषद् पुनर्गठन : नौ जना थपिए, सात जना बाहिरिए
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद् २५ सदस्यीय छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नयाँ सदस्य थप, हेरफेर र कार्य विभाजन गरेकी हुन् ।
मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ थपिएका छन् । त्यस्तै राज्यमन्त्रीका रूपमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर थपिएका छन् ।
त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, भुसाललाई कृषि तथा पशुपन्छी विकास, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राज्यमन्त्रीका रूपमा रहेका दुगडलाई उद्योग, रावतलाई स्वास्थ्य तथा जनसंख्या र मानन्धरलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यीमध्ये नेम्बाङ, गुरुङ, दुगड, रावत र मानन्धर पहिलो पटक मन्त्री बनेका हुन् ।
मन्त्रिपरिषद्बाट गोकर्ण बिष्ट (श्रम), लालबाबु पण्डित (संघीय मामिला), थममाया थापा (महिला), रघुवीर महासेठ (भौतिक पूर्वाधार), चक्रपाणि खनाल (कृषि) र मात्रिका यादव (उद्योग) बाहिरिएका छन् । कृषि राज्यमन्त्रीका रूपमा कार्यरत रामकुमारी चौधरी पनि बाहिरिएकी छन् ।
२०७४ फागुन ३ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि २०७४ फागुन १४, २०७४ चैत २, २०७५ जेठ १८, २०७५ साउन १८ र २०७६ साउन १५ मा हेरफेर तथा विस्तार गरिएको थियो ।
यस्तो छ २५ सदस्यीय मन्त्रिपरिषद्
केपी शर्मा ओली– प्रधानमन्त्री
ईश्वर पोखरेल– उपप्रधानमन्त्री, रक्षा
उपेन्द्र यादव– उपप्रधानमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला
रामबहादुर थापा– मन्त्री गृह
प्रदीपकुमार ज्ञवाली– मन्त्री परराष्ट्र
हृदयेश त्रिपाठी– मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन
गिरिराजमणि पोखरेल– मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
वर्षमान पुन– मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
घनश्याम भुसाल– मन्त्री कृषि तथा पशुपन्छी विकास
भानुभक्त ढकाल– मन्त्री स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्ट– मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
योगेशकुमार भट्टराई– मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
शक्तिबहादुर बस्नेत –मन्त्री वन तथा वातावरण
रामेश्वर राय यादव– मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. युवराज खतिवडा– मन्त्री अर्थ
मोहम्मद इस्तियाक राई– मन्त्री सहरी विकास
जगतबहादुर सुनार (विश्वकर्मा)– मन्त्री युवा तथा खेलकुद
गोकुलप्रसाद बास्कोटा– मन्त्री सञ्चार तथा सूचना प्रविधि
पद्माकुमारी अर्याल– मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
बिना मगर–मन्त्री खानेपानी
वसन्तकुमार नेम्बाङ– मन्त्री भौतिक पूर्वाधार तथा यातायात
पार्वत गुरुङ– मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
मोतीलाल दुगड– राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
नवराज रावत– राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या
रामवीर मानन्धर– राज्यमन्त्री सहरी विकास
आजको नागरिक दैनिकमा समाचार छ ।
