उपनिर्वाचन : स्थानीय तहका ४८ स्थानमा मनोनयन दर्ता, प्रदेश ३ मा ६ वटा
मकवानपुर, २७ कात्तिक । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि बुधबार ४८ वटा स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
आयोगले आज (बुधबारं) बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो । निर्वाचन आयोगले मिति निर्धारण गरे बमोजिम बुधवार ४८ स्थानमा उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।
जसमा प्रदेश– ३ मा रिक्त रहेका ६ वटा वडाध्यक्ष पदका लागि उम्मेदवारीको नाम दर्ता भएको छ ।
प्रदेश–३ का रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेको धुलिखेल नगरपालिका–२, काठमाडौँ दक्षिणकाली नगरपालिका–३, चितवनको खैरहनी नगरपालिका–४ र ५ मा उम्मेदवारी दर्ता भएको हो ।
उपनिर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५२ पदका लागि निर्वाचन हुँदैछ । ३७ जिल्लाका तोकिएका क्षेत्र र स्थानीय तहमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।
