प्रदेश ३ सरकारले सुरक्षा व्यवस्थापनमा साझेदारी गर्ने

प्रदेश ३ सरकारले स्थानीय तहमा सुरक्षा व्यवस्थापन, न्यायिक इजलास र शान्तिपार्क निर्माणका लागि साझेदारी गर्ने भएको छ ।
स्थानीय तहको उपप्रमुखको नेतृत्वमा गठन हुने न्यायिक इजलासलाई प्रभावकारी बनाउन प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहयोग गर्ने भएको हो । यसका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
साझेदारीका लागि मन्त्रालयले तीनै प्रकारको कामको लागि छुट्टाछुट्टै कार्यविधि निर्माण अन्तिम चरणमा पु¥याएको छ । प्रस्तावित कार्यविधिमाथि आवश्यक छलफल सकिएको र कात्तिक अन्तिमसम्ममा अन्तिम रूप पाउने मन्त्रालयका अधिकृत पेशलकुमार पोखरेलले जानकारी दिए ।
मन्त्रालयले स्थानीय तहसँग सुरक्षा व्यवस्थापन साझेदारी कार्यविधि, इजलास निर्माण सम्बन्धी कार्यविधि र शान्तिपार्क स्थापना कार्यविधि निर्माण गरेको हो ।
प्रदेशको आन्तरिक सुरक्षा प्रशासन व्यवस्थापनका लागि कानुनी आधार नहुँदा मन्त्रालयले स्थानीय तहसँगको सहकार्यलाई जोड दिएको हो । बजेटको ठूलो हिस्सा प्रहरीको भौतिक पूर्वाधार निर्माणमा खर्च हुने गरेपनि कानुनविपरीत भएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रालयले स्थानीय तहसँगको साझेदारीलाई जोड दिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।