प्रदेश नं. ३ को नाम र राजधानी छिट्टै तोकिन्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, २३ कात्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र स्थायी राजधानी छिट्टै तोकिने बताएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संविधानको भावना अनुरुप राजधानी तोकिने बताएका हुन् ।
उनले राजधानीको विषय संवैधानिक प्रक्रियामै अघि बढेको उल्लेख गरे ।
प्रदेशसभाको दुईतिहाई सदस्यले स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाउने संवैधानिक प्रक्रिया भएपनि सकेसम्म सहमतिकै आधारमा जान खोज्दा ढिलाइ भइरहेको उनले प्रष्ट पारे ।
सहमतिबिना संवैधानिक प्रक्रियामा गएर भए पनि छिट्टै स्थायी राजधानी तोकिने उनको भनाइ थियो ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताए । “हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौँ”, उनले भने ।
विभिन्न गाउँ–ठाउँमा उत्पादित कृषि उत्पादनले बजार नपाएकाप्रति इङ्गित गर्दै उनले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
