सीमाविवादमा राष्ट्रिय धारणा तय गर्न प्रधानमन्त्रीको आह्वानमा आज परामर्श बैठक

२०७६ कार्तिक २३,शनिबार ०८:५४

प्रधानमन्त्री केपी ओलीले भारतसँगको सीमाविवादबारे राष्ट्रिय सहमतिसहितको ठोस धारणा तय गर्न शनिबार पूर्वप्रधानमन्त्रीहरूसहितको बैठक आह्वान गरेका छन् । बैठकमा प्रमुख राजनीतिक दलका नेताहरूलाई पनि डाकिएको छ ।

नेपाली भूमि कालापानी क्षेत्र समेट्ने गरी भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि सरकार राष्ट्रिय धारणा बनाएर अघि बढ्ने तयारीमा लागेको हो । ‘प्रधानमन्त्रीज्यूले शनिबार अपराह्न पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेताहरू, विज्ञहरूसहितको परामर्श बैठक आह्वान गर्नुभएको छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नयाँ पत्रिकासँग भने । भारतसँगको सीमाविवादमा प्रमुख प्रतिपक्ष कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एउटै धारणा तय गर्नका लागि प्रधानमन्त्रीले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्रीहरूसहितलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रविद्, सीमाविद्, विभिन्न राजनीतिक दलका नेताहरू, नापी विभागका महानिर्देशकलगायतलाई पनि डाकिएको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य–प्रमाणका आधारमा छलफल गर्ने र सुझाबसहितको निष्कर्षका आधारमा भारतसँग संवाद अघि बढाउने सोचमा प्रधानमन्त्री ओली रहेको स्रोतले जनाएको छ ।

कालापानी भारतीय नक्सामा परेकोप्रति सरकारले परराष्ट्र मन्त्रालयमार्फत आपत्ति जनाइसकेको छ । बिहीबार जारी वक्तव्यमा कालापानी क्षेत्र नेपालकै भूमि भएको र सीमारक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख थियो । नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेससहित राजनीतिक दल, युवा–विद्यार्थी संगठनहरूले दबाब दिइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*