त्यो प्रतिप्रश्न, जसका कारण दिए महराले राजीनामा

२०७६ आश्विन १५,बुधबार ०७:४७

सोमबार साँझ सनसनीपूर्ण खबर फैलियो– सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरे । यो कुरा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कानमा पुग्दा रात छिप्पिन लागिसकेको थियो ।

भएको के थियो भन्ने बुझ्न नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ मंगलबार बिहानै महराको सरकारी निवास बालुवाटार पुगे । तर महरा खुल्न चाहेनन् । पारिवारिक सम्बन्ध भएकाले पहिलेपहिले जाने गरेको तर यसपालि ती महिलाको कोठामा नगएको जिकिर गरे । त्यसपछि सोधपुछका लागि अध्यक्ष दाहाल आफैं गए । ‘महराले त्यही कुरा दोहोर्‍याउनुभयो,’ स्रोतले भन्यो, ‘तर दाहालले यस्तो टालटुले जवाफले हुँदैन भन्नुभएपछि उहाँले थप जवाफ दिनुभएन ।’

महरासँग छोटो कुराकानीपछि दाहाल परामर्शका लागि प्रधानमन्त्री ओलीलाई भेट्न उनकै निवास पुगे । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पहिल्यै त्यहाँ पुगिसकेका थिए । तीनै जना भेला भएपछि ओलीले महरालाई फोन गरे । महराको बोली फेरियो । स्रोतका अनुसार ओलीसँगको फोनमा महराले भने, ‘म ती महिलालाई चिन्दा पनि चिन्दिनँ र अहिलेसम्म उनको डेरामा गएको पनि छैन ।’

दुई अध्यक्षसँग केही समयको अन्तरालमा भएको संवाद नै बाझिएपछि ओलीले महरालाई आफूले आइतबार साँझ भएका घटनाका सबै रिपोर्ट पाइसकेकाले झूट नबोल्न भने । त्यसपछि महराले भने, ‘म छानबिनका लागि बाटो खोलिदिन्छु ।’ लगत्तै फोन काटियो ।

अध्यक्षद्वयले तुरुन्तै सचिवालय बैठक बोलाउने निधो गरे । बिहान ११ बजे बसेको सचिवालय बैठकमा महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने निर्णय भयो । प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई निर्णयको जानकारी गराए ।

‘सचिवालय बैठकले महरा आइतबार साँझ ती महिलाको डेरामा गएकै हुन् भन्ने निष्कर्ष निकालेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सुरक्षा स्रोतबाट प्रधानमन्त्रीलाई भएको रिपोर्टिङमा पनि त्यही ब्रिफिङ छ ।’ सचिवालयले निर्णय गरेको करिब आधा घण्टापछि महराले सभामुख पदबाट राजीनामा दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*