नेपाली काँग्रेसले आज हेटौँडामा विरोध र्याली निकाल्ने
मकवानपुर, ७ असोज । नेपाली काँग्रेसको दोस्रो चरणको देशव्यापी जागरण अभियानको समापनको दिन आज (मंगलबार) हेटौँडामा वृहत विरोध र्याली निकाल्ने भएको छ ।
१५ दिनसम्म चलेको दोस्रो चरणको अभियानअन्तर्गत मंगलबार सरकारका गलत प्रवृत्तिको भण्डाफोर गर्दै विरोध प्रदर्शनको कार्यक्रम राखिएको पार्टी प्रवक्ता प्रदिप कोइरालाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट निस्कने विरोध ¥याली बजारको विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर समापन हुनेछ ।
कार्यक्रममा नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँलगायत अभियानको लागि खटाइएका केन्द्रीय प्रतिनिधिको समेत सहभागिता रहने प्रवक्ता कोइरालाले बताए ।
उनका अनुसार भदौ २४ गदे विपी स्मृति दिवसको दिनदेखि सुरु भएको दोस्रो चरणको अभियानको क्रममा काँग्रेसले ४ वटै प्रदेश निर्वाचन क्षेत्र केन्द्रित गरेर वृक्षारोपणदेखि पार्टीको संगठन निर्माणसम्मको काम गरेको छ ।
अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, सरकारले गरेका गलत कामहरुको भण्डाफोर, वडा स्तरीय अन्तरक्रियालगायतको कार्यक्रम गरेको जनाएको छ ।
अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु पनि गरिएको प्रवक्ता कोइरालाले बताए ।
