वर्तमान सरकार गरिब नभई आफ्ना नेताहरुको समृद्धिमा लागेको छ : नेता बानियाँ
मकवानपुर, ५ असोज । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार गरिब नभई आफ्ना नेताहरुको समृद्धिमा लागेको बताएका छन् ।
शनिबार नेपाल शिक्षक संघ बाग्मती गाउँपालिकाको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम एवं पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बानियाँले वर्तमान सरकार गरिबको समृद्धिमा काम गर्नुको सट्टा आफ्ना नेताहरुको समृद्धिमा जुटेको बताएका हुन् ।
उनले आफ्ना नेताहरुको समृद्धिमा लागेकाले जनतामा सरकारप्रति आक्रोश बढिरहेको बताए ।
वर्तमान सरकारको कार्यशैलीले कम्युनिष्ट नेताहरुमात्रै धनी हुने उनको दाबी थियो । गरिब जनतालाई करको बोझ थोपर्ने, भ्रष्टाचार बढाउने र दण्डहिनतालाई प्रोत्साहन गर्नेतर्फ सरकार अघि बढेको नेता बानियाँले जिकिर गरे ।
सरकारको असफलताको फाइदा उठाउँदै व्यवस्था असफल बनाउन चाहनेहरु सक्रिय भईरहेको भन्दै उनले सबै सचेत हुनुपर्नेमा जोड दिए ।
यस्ता तत्वहरुको प्रतिकार गर्न र सरकारको गलत कामको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिंदै नेता बानियाँले जनताको समस्या समाधानमा कांग्रेस नेता कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रम नेपाल शिक्षक संघ बाग्मति गाउँपालिका सभापति जयनेपाल थापाको सभाध्यक्षतामा भएको थियो ।
