अब जनताहरुले आफ्नो अधिकार प्राप्तिको लागि आन्दोलन गर्नु पर्दैन : मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा विभिन्न दलहरुले नेतृत्वमा आन्दोलनबाट राजनीतिक परिवर्तन ल्याइएको भएपनि अब जनताको भावना परिवर्तन गरी आर्थिक समृद्धितर्फ उन्मुख गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
संविधान दिवस मुल समारोह समिति प्रदेश नं. ३ सरकारद्वारा आज (शुक्रबार) हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
उनले जनताद्वारा निर्वाचित संविधानसभाबाट जारी गरेको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकोले अब जनताहरुले आफ्नो अधिकार प्राप्तिको लागि आन्दोलन गर्नु नपर्ने दृढता व्यक्त गरे ।
उनले प्रदेश सरकारले आफ्नो नीति कार्यक्रममा उल्लेख गरिए अनुसार प्रदेशको १३ जिल्लामा राष्ट्रिय गौरबको आयोजनाको बाँडफाँड गर्नुको साथै जनतालाई शान्ति सुरक्षाको सु–व्यवस्थित गरी आर्थिक समृद्धिको लागि बजेट कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले जनहितका लागि प्रदेशसभाको चौथो अधिवेशनबाटसमेत गरी ४५ वटा विधेयक पारित गरिएको मध्ये ३८ वटा विधेयकमाथि प्रमाणिकरण भइसकेको पनि स्पष्ट पारे ।
मुख्यमन्त्री पौडेलले संविधान दिवसको उपलक्ष्यमा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा विजयी नेपाली सेनाका भीमफेदीस्थित सुपारेटार ब्यारेकका जवानहरुलाई नगदसहित प्रमाणपत्र वितरणसमेत गरेका थिए ।