प्रदेश–३ : ८ वटा जिल्ला अस्पतालको सुदृढीकरणका लागि बजेट विनियोजन, हेटौँडा अस्पताललाई १ करोड ५० लाख

२०७६ भाद्र २८,शनिबार १०:१३

मकवानपुर, २७ भदौ । सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले ८ वटा जिल्ला अस्पतालका लागि बजेट विनियोजन गरिएको छ ।

प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गरी सुविधा सम्पन्न गराउने लक्ष्यसहित प्रदेशभित्र रहेका ८ वटा सरकारी अस्पतालको लागि रु ९ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

मन्त्रालयले आव २०७६–०७७ का लागि भक्तपुर अस्पताललाई रु १ करोड ५० लाख, हेटौँडा अस्पताललाई रु १ करोड ५० लाख, त्रिशूली अस्पताल नुवाकोटलाई रु १ करोड २५ लाख, चौतारा अस्पताल सिन्धुपाल्चोकलाई रु १ करोड बजेट विनियाजित गरिएको छ ।

त्यस्तै धादिङ अस्पताललाई १ करोड २५ लाख, रामेछाप अस्पताललाई रु १ करोड, रसुवा अस्पताललाई रु ७५ लाख र सिन्धुली अस्पतालाई रु १ करोड २५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उक्त योजना प्रदेश नं ३ सरकारको नीति तथा कार्यक्रममा नै समावेश भएकाले प्रदेश सरकारले यस कार्यलाई विशेष महत्वका साथ हेरेको बताइएको छ । यो कार्यको मन्त्रालयले अनुगमन तथा मूल्याङ्कन गरिरहने मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताए ।

अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत विनियोजन गरिएको बजेटबाट सम्बन्धीत अस्पतालले आवश्यक औजार उपकरण खरीद तथा अन्य पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन तथा सङ्क्रमण रोकथाम कार्यक्रम र भौतिक संरचना उपकरणसहितका विकास निर्माण कार्यक्रममा खर्च गरिने सो मन्त्रालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*