काँग्रेसलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ नेतृत्व तह अघि बढेको छ : मन्त्री कोईराला

तु खबर संवाददाता
२०७६ भाद्र २४, मंगलवार १७:२५

मकवानपुर, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले नेपाली काँग्रेसका शीर्ष नेता तथा कार्यकर्ताहरुलाई विभाजित गुट–उपगुटबाट एक ढिक्का बनाई नेपाली काँग्रेसलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ नेतृत्व तह अघि बढेको बताएका छन् ।

महामन्त्री कोईरालाले प्रजातान्त्रित समाज नेपालद्वारा आज (मंगलबार) हेटौँडामा आयोजित मुलुकको भावि अर्थनीतिमा प्रजातान्त्रिक समाजवाद विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

काँग्रेसले प्रजातन्त्रप्रति आस्था राख्ने सबै नागरिक र समूहलाई एकताबद्ध गरेर राष्ट्रमा प्रजातन्त्रलाई बलियो र मानव अधिकारको प्रत्याभूतिलाई हस्तक्षेप हुन नदिने उनले दृढता व्यक्त गरे ।

उनले सत्तारुढ नेकपाको सरकार बहुमतको दम्भ र दलगत स्वार्थले गर्दा सरकारले संवैधानिक प्रकृया अनुसार जनहितको लागि काम गर्न नसकेको र जनतालाई गणतन्त्रप्रति घृणा फौलाउने कार्य सरकारको क्रियाकलापबाटै भएको आरोप लगाएका छन् ।

सो कार्यक्रममा नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले स्व. विपी कोईरालाले प्रतिपादन गरिएको समाजवाद र राष्ट्रिय मेलमिलापको नीतिलाई सबै कार्यकर्ता शुभेच्छुुकहरुले चिन्तन र मनन् गर्न आवश्यक रहेको बताए । उनले प्रतिपक्ष नेपाली काँग्रेसले नेपालको सविधानको साथै राष्ट्रिय एकताको सम्र्बद्धन गर्न र पार्टीलाई एक ढिक्का बनाउन कार्यकर्ताहरु नै उर्जाशील हुनुपर्ने विश्वास व्यक्त गरे ।

यसैबीच महामन्त्री कोईरालाले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित रुद्रेश्वर मन्दिरको परिसरमा आज वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका छन् । सो परिसरमा कपुर, तेजपत्ता, शिशौ, पिपला, हर्योबर्यो गरी करिब २ सय विरुवाहरु लगाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*