नेकपा प्रदेश २ को शपथ ग्रहण कार्यक्रममा झडप हुँदा एक जनाको टाउँको फुट्यो
जनकपुरधाम, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा झण्डै आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ ।
बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ ।
शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा अगावै नेता तथा कार्यकर्ताहरुले नाराबाजी सुरु गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका छन् ।
पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको थियो । असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हलबाट बाहिर निकालिदिएका छन् ।
असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झड्प भएको हो । झड्पलाई नियन्त्रण गर्न आएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता देबनाथ यादवको टाउको फुटेको छ । उनी प्रदेश कमिटि सदस्य हुन् ।
महोत्तरीको बर्दिवासमा आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम निर्धारण गरिएकोमा मंगलबार सप्तरी र सिरहाका पदाधिकारीहरुको मात्रै शपथ ग्रहण कार्यक्रम राखिएको थियो ।
