प्रदेश ३ को स्थायी राजधानी हेटौँडा नै हुने थापाको दाबी
मकवानपुर, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौँडानै हुने दाबी गरेका छन् ।
चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले सो कुरा बताउँदै प्रदेश ३ को प्रदेशसभाले छिट्टै प्रदेशको स्थायी राजधानी हेटौँडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे ।
उनले आफ्नो गृह जिल्ला मात्र नभइ राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौँडालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको पनि स्पष्ट पारे ।
अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट पनि अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौँडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क राखे ।
