डेंगु रोग नियन्त्रण गर्नका लागि सरकार अति गम्भीर छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, १२ भदौ । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको सिमित स्रोतसाधनको उपयोग गरी प्रदेशका जिल्लाहरुमा भौतिक पूर्वाधारको निर्माण गर्ने बताएका छन् ।
बिहिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेलले सो कुरा बताउँदै जनताको लागि आर्थिक समृद्धि ल्याउने कार्यक्रमलाई सरकार दृढताका साथ संकल्पित रहेको पनि बताए ।
भदौ ८ गतेदेखि १२ गतेसम्म संचालन भएको प्रदेशसभाको बैठकमा सदस्यहरुले विशेष र शुन्य समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले प्रदेश अन्तरगत भएका जिल्लाहरुमा हालै प्रकोपमा देखिएको डेंगु रोगलाई नियन्त्रण गर्ने अन्तिम प्रयास जनस्तरसम्म पुर्याउने विषयमा सरकार अति गम्भीर रहेको स्पष्ट पारे ।
पूर्व जनमुक्ति सेनाका जवानहरुलाई अहिले प्रदेश सरकारको तर्फबाट परिचयपत्र वितरण गर्ने कार्य भइरहेको र उनीहरुलाई उचित स्वरोजगार उपलब्ध गराउन केन्द्रिय सरकारसँग समन्वय भइरहेको पनि उनले बताए ।
उनले वि.स. २०८५ सालभित्र प्रदेश नं. ३ का १३ जिल्लामा इन्धनको सवारीलाई हटाई विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउन चीन सरकारसँग प्रदेश सरकारले हालै सम्झौता गरिसकेको पनि जानकारी दिए ।
उक्त बैठकमा बोल्दै अधिकांश प्रदेशसभाका सदस्यहरुले भक्तपुर नगरपालिकाले विना कारण भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिलाई हस्तक्षेप गरी विघटन गर्ने नगरपालिकालाई कानूनी अधिकार नभएको र नगरपालिका प्रमुख आफै व्यवस्थापन समितिको अध्यक्ष भएकोमा प्रदेश सरकारले पनि सो घटनाको विषयलाई छानविन गरेर सार्वजनिक गर्न माग गरेको थियो ।
उनीहरुले बाढीपहिरोको प्रकोपबाट भत्किएको राजमार्ग, पुल र खानेपानी योजनालाई तत्काल प्रदेश सरकारको निर्देशनबाट सम्बन्धित निकायलाई बजेट उपलब्ध गराउन आग्रहसमेत गरे ।
