संरचना गठनमा जुट्यो कांग्रेस
नेपाली कांग्रेस पार्टीको अन्तरिम संरचना गठनमा जुटेको छ। संघीयतामा गएको चार वर्ष पुरानै संरचनाबाट सञ्चालित कांग्रेस आगामी महाधिवेशनका लागि स्थानीय तहमा संगठन पुनर्संरचना गर्न सक्रिय भएको हो।
कांग्रेसको अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको थियो। निर्देशिकाअनुसार पार्टीको केन्द्रीय निर्वाचन समिति संरचना समायोजनमा जुटेको हो। राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजकत्वको निर्वाचन समितिले आइतबार पार्टी सभापतिसहित पदाधिकारीसँग छलफल गरेको छ।
‘निर्देशिकाबारे हामीले छलफल गरेका हौं,’ समिति संयोजक अधिकारीले भने, ‘निर्देशिकामा कतिपय कुरा दोहोरिएका छन्, केही बुँदा दोहोरो अर्थ लाग्ने खालका पनि छन्। ती विषयमा प्रस्ट पार्ने काम भयो।’ समिति निर्देशिकाअनुसार स्थानीय संरचना निर्माणमा जुटेको उनले जानकारी दिए। निर्देशिकामा भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समिति गठन गरिसक्नुपर्ने उल्लेख छ भने स्थानीय तहमा कात्तिक मसान्तभित्र अन्तरिम संरचना गठन गर्नुपर्ने कार्यतालिकामा तोकिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
