नेपालले छरछिमेकमा भएको घटनाबाट पाठ सिक्नुपर्छ : नेता रावल
काठमाडौं, २८ साउन । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले छिमेकी देश र अन्तर्राष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर राष्ट्रिय हितमा दृढताका साथ उभिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा भएका घटनाबाट पाठ सिक्नुपर्ने बताएका हुन् ।
‘नेपालकै छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा घटेका घटनाक्रम र राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै समय काल र अवस्थाअनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुन आवश्यक छ’ उनले भने ।
नेता रावलले नेपाललाई कुनै पनि शक्ति राष्ट्र र सामरिक गठजोडमा लाग्न संविधानले समेत अनुमति नदिएको पनि बताए ।
प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा सीमित तालिम र अनुभव आदान प्रदान गर्न सकिने भए पनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर सैन्य अभ्यासमा नेपाल सहभागी हुन न हुने नेता रावलले बताए ।
