देश र जनताप्रति मिडिया सधैं जिम्मेवार र संवेदनशील हुनुपर्छ : पूर्व सभामुख घर्ती

तु खबर संवाददाता
२०७६ श्रावण २६, आईतवार ११:११

मकवानपुर २६ साउन । पूर्व सभामुख एवं प्रतिनिधि सभा सांसद ओन्सरी घर्तीले लोकसेवा आयोग र स्थानीय तहले कर्मचारीको असमावेशी विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य गलत भएको बताएकी छिन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशीको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । उनले स्थानीय तहले पनि समावेशी प्रकृया मिचेर कर्मचारी भर्ना गर्ने कार्य गलत भएको दाबी गरिन् ।

‘संविधान अनुसार कर्मचारीको असमावेशी र असमानुपातिक विज्ञापन र नियुक्ती प्रकृया उपयुक्त कार्य होईन,’ उनले भनिन्, ‘त्यो कार्यले विभेद र उत्पीडनमा परेका आदिवासी जनजाति, महिला, दलित लगायतलाई घाटा लागेको छ ।’

समावेशी र समानुपातिक कार्यान्वयनको पक्षमा आफु सदैव लडिरहने भन्दै उनले त्यसले नै देश विकास र एकताबद्ध हुने दाबी गरिन् ।

प्रेस स्वतन्त्रताको नाममा विकृती बढीरहेको भन्दै उनले मिडिया र पत्रकार थप जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिईन् । ‘कहिले देश भुल्ने, कहिले जनता भुल्ने विकृतिहरु पनि भईरहेको छ,’ उनले भनिन्, ‘देश र जनताप्रति मिडिया सधैं जिम्मेवार र संवेदनशील हुनुपर्छ ।’ भ्यू, लाईक, शेयर र चर्चा भन्दा पनि सत्य, तथ्य र निष्पक्षमा मिडियाले बढी जोड दिनुपर्ने उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*