‘भ्रष्टाचारकै कारण राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ’
बुटवल १३ साउन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले नेताहरुले भ्रष्टाचार नगरेको भए नेपाल धेरै राम्रो बनिसकेको हुने थियो भन्दै भ्रष्टाचारकै कारण मुलुकको विकासले गति लिन नसकेको बताएका छन् ।
सोमबार बुटवलमा आयोजित एक कार्यक्रमा बोल्दै ‘भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले त आत्महत्या गरे अब राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ’, उनले भने ।
उनले काँग्रेसका धेरै नेता भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुला भइरहेका भ्रष्टाचारलाई लुकाइरहेको बताए । वाइडबढी, बालुवाटार जग्गा, बूढीगण्डकी, एनसेल लगायतका काण्डका दोषीलाई कारबाही गर्न सरकारले चासो नदिएको उनको आरोप छ ।
गुल्मीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सहयोग गरी फर्किएका उनले गुल्मीको अवस्था दर्दनाक भएको बताए ।
उनले मानवीय हिसावले पार्टी र आफूले ३ लाख नगद सहयोग गरेको बताए । भण्डारीले संघीय र प्रदेश सरकारले पहिरो पीडितलाई पर्याप्त सहयोग गर्न नसकेको पनि बताए ।
