सिंगापुरले दियो नेपाललाई १९२ रनको लक्ष्य
काठमाडौं, १२ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्याउन टिम डेभिडले ७७ रन बनाए ।
यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । नेपालका लागि अभिनास बोहराले चार विकेट र करण केसीले २ विकेट लिए ।
आजको खेलको विजेता अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।
हाल सिंगापुर ५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
