तराईमा बर्षेनी हुने डुबानको दीर्घकालीन समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह
काठमाडौं ८ साउन । प्रमुख प्रतिपक्षी दलका नेता तथा सभापति शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सभापति देउवाले सरकारलाई तराईका जिल्लामा बर्षेनी हुने डुबानको दीर्घकालीन समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।
उनले तटबन्धका कारण बर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने उल्लेख गरे । उनले भने, ‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भइसकेको छ । भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने । कति दिनसम्म चल्छ यो ? त्यसकारण कुटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ । भारतले डुबान पार्यो भन्छन् त्यहाँ । भारतले नेपालले सिध्यायो भन्छ । त्यसकारले यसमा कुटनीतिक ढंगले कुरा गर्नुपर्छ ।’
कोशी ब्यारेज बन्दै गर्दाको समयमा नेपालको सिमामा साना–साना चिया पसल गरि बसेकालाई भारतले सुरक्षाको कारण हटाउन खोजेको भन्दै उनले सो समस्या समाधानका लागि पनि सरकारलाई आवश्यक कुटनीतिक पहल गर्न आग्रह गरे ।
