नेकपाको सरकारले जनताको काम गर्न सकेन : नगर सभापति पराजुली
मकवानपुर, ३ साउन । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् ।
उनले स्थानीयदेखि प्रदेश र संघीय सरकारसम्मसँग दुई तिहाई बहुमत भएरपनि काम गर्न नसकेको, आफै बरालिएको र गालीगलौचमा सीमित भएको भन्दै गरिव र विपन्नको नाममा राजनीति गरे पनि काम गर्न नसकेको बताए ।
काँग्रेस हेटौँडा उपमहानगर १६ नम्बर वडा इकाइ समितिको आयोजनामा बिहीबार नगरको विकट बस्ती शक्तिखोलामा आयोजित कार्यक्रममा बोल्दै नगर सभापति पराजुलीले काँग्रेस हारेका कारण विकास हुन नसकेको हो भने ।
काँग्रेसका अग्रज नेता धनलाल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सोमबहादुर मोक्तानले बस्तीको सडक, बत्ती, खानेपानीलगायतका समस्या राखेका थिए ।
