सांसद यादवले दिए बाढी पीडितलाई एक महिनाको तलब
काठमाडौं ३० असार । समाजवादी पार्टी, नेपालका पर्सा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बाढी पीडितलाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
उनले सोमवार एक विज्ञप्ति जारी गर्दै संसदबाट पाउने एक महिनाको तलब पर्सा जिल्ला विपद व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
उनले यस प्राकृतिक विपदको घडीमा सहयोग गर्न सबै सहयोगी मनहरुसँग पनि आग्रह समेत गरेका छन् ।
बाढी पीडितलाई तत्काल राहतको आवश्यकता रहेको भन्दै उनले स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार गम्भीर भएर उद्दार र राहतमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
