प्रदेश–३ का कार्यबाहक मुख्यमन्त्रीमा जम्मकट्टेल
मकवानपुर, १७ असार । प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा कार्यबाहक मुख्यमन्त्रीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेललाई तोकिएको छ ।
मुख्यमन्त्री पौडेल चीनको गान्सु प्रान्तको गर्भनरका निमन्त्रणमा लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा सहभागी हुन आज (मंगलबार) त्यसतर्फ प्रस्थान गरेपछि प्रदेश प्रमुख कोइरालाले मुख्यमन्त्री पौडेलको सिफारिसमा कार्यबाहक मुख्यमन्त्री जम्मकट्टेललाई तोकिएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी कार्यबाहक मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने भएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यलयले जनाएको छ ।
मुख्यमन्त्री पौडेल असार २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
