हेटौंडाले पूर्वाधार विकासमा ८६ करोड खर्च गर्ने

तु खबर संवाददाता
२०७६ असार ११,बुधबार ०९:२१

हेटौंडा, ११ असार / प्रदेश ३ को एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपमहानगरको पाँचौ नगरसभा बैठकमा १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत बजेट प्रस्तुत गरिएको हो, आजको नयाँ पत्रिका मा खबर छ ।

उपमहानगर उपप्रमुख मीना लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँटफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश–३ सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख रुपैयाँको बजेट ल्याइएको छ । त्यसैगरी संघीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ ।

उपमहानगरको गत वर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरिने उपप्रमुख लामाले बताइन् । बजेटमा कर्मचारी तलब, भत्तालगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ विनियोजित गरिएको छ । कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ ।
नगरको सामाजिक कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ । उपमहानगरले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताइन् ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले नगरसभा उद्घाटन गर्दै अब हेटौंडा बजारको सडक फराकिलो हुने बताए । मुख्यमन्त्री पौडेलले २५ मिटर भत्काए पनि, १६ मिटर भत्काए पनि अब हेटौंडा बजार फराकिलो हुनेमा दुई मत नरहेको बताए ।

उपमहानगर प्रमुख हरिबोल महतको सभाध्यक्षतामा भएको नगरसभामा जनप्रतिनिधिले विकास गर्न खोजे पनि कानूनी जटिलताका कारण काम हुन नसकेको सहभागीहरुले बताए । जेठ अन्तिमसम्ममा नगरको पूँजीगत खर्च ४८ प्रतिशत भएको छ ।

मकवानपुरका स्थानीय तहको बजेट ६ अर्ब १४ करोड

मकवानपुरका १० वटै स्थानीय तहको बजेट ६ अर्ब १४ करोड रहेको छ । हेटौंडा उपमहानगरपालिका बाहेक थाहा नगरपालिका र आठ वटा गाउँपालिकाको आगामी आव २०७६/०७७ को बजेट ४ अर्ब ४४ करोड रहेको छ ।

थाहा नगरपालिकाले ७१ करोड ४१ लख बजेट सार्वजनिक गरेको छ । थाहाले आगामी आवमा ९० प्रतिशत भन्दामाथि खर्च गर्ने दाबी गरेको छ । मनहरी गाउँपालिकाले ६१ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । मनहरीले चालुतर्फ ३१ करोड ८७ लाख र पुँजीगत तर्फ ३० करोड ११ लाख रहेको बजेटमा उल्लेख छ । त्यसैगरी बकैया गाउँपालिकाले ६० करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ल्याएको बजेटको ८० प्रतिशत भन्दा माथि कार्यान्वयन हुने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिए ।

बाग्मती गाउँपालिकाले ३० करोडको बजेट प्रस्तुत गरेको छ । मकवानपुरगढी गाउँपालिकाले ५० करोडको बजेट ल्याएको छ । २५ वर्षीय विकासका योजना र आवधिक योजनासहित बजेट ल्याएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए । इन्द्रसरोवर गाउँपालिकाले भने मकवानपुर जिल्लामा सबैभन्दा कम २९ करोडको बजेट प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ मा २५ करोडको बजेट ल्याएको इन्द्रसरोवरले आगामी आवको बजेटको ८५ प्रतिशतभन्दा धेरै कार्यान्वयन गर्ने दाबी गरेको छ । भीमफेदी गाउँपालिकाले ४८ करोडको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार ९० प्रतिशत खर्च गर्ने गरि बजेट ल्याइएको छ ।

वडा अध्यक्षहरुको विरोधका कारण कैलाश गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेन । अध्यक्ष टंक मोक्तानले एकलौटी तरिकाले छलफल बिना अघि बढ्न खोजेको आरोप लगाउँदै वडा अध्यक्षहरुले विरोध जनाएपछि गाउँसभा स्थगित गरिएको छ ।

जिल्लाकै विकट राक्सिराङ गाउँपालिको ४५ करोड बजेट ल्याएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए । विकट क्षेत्र भएकोले गाउँपालिकाले बजेटमा पुर्वाधार क्षेत्रलाई बढी जोड दिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*